तनहुँ /
जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ ।
व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मङ्गलबारदेखि थालिएको हो । उक्त अभियानको नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । नगरप्रमुख न्यौपानेले अबको शिक्षा प्राविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो ।

भौतिक सुधारका साथै गुणस्तरीय शिक्षा लिने अपेक्षा गरिए पनि शिक्षण प्राविधि पुरानै ढर्राको रहेकाले यसको अन्त्य गर्दै नयाँ प्रविधितर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र्र पोखरेलले हिजोको शिक्षण सिकाइ चक, डस्टर र कालोपाटीबाट शुरुआत भए पनि अहिलेको माग डिजिटल प्राविधि रहेकाले यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । स्थानीय तह, साझेदारी संस्था र विद्यालय गरी त्रिपक्षीय सहभागितामा यस कार्यक्रम सञ्चालन गरिनेछ ।
अफलाइनमा आधारित सफ्टवेयरमार्फत शिक्षकको प्राविधिक क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको डिजिटल सिकाइ अभियानका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले बताउनुभयो । उक्त प्राविधिमार्फत २०० भन्दा बढी वेवसाइट उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “मार्कसिट, ग्रेडसिट, तलबी भर्पाइ, पुस्तकालय व्यवस्थापनलगायतका ढाँचा, डिजिटल किताबलगायत उपलव्ध गराइने छ ।” यस कार्यक्रमका लागि व्यास नगरपालिकाबाट रु चार लाख, साझेदारी संस्था एकीकृत हरित विकास नेपालबाट रु तीन लाख ५० हजार सहयोग रहेको छ ।
जिल्लामा रहेका ७५ वटै विद्यालयमा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । व्यास नगरपालिकाको सहयोगमा सबै विद्यालयका शिक्षकलाई ६० दिने प्राविधिक तालिम प्रदान गरिसकिएको सो संस्थाले जनाएको छ । व्यास नगरपालिका –१० मा रहेका चार माध्यमिक विद्यालयमा आइसिटी प्याकेज उपलब्ध गराइसकिएको छ । जसमा भानु मावि, सर्वज्योति मावि, शिव मावि र चण्डीदेवी मावि छन् ।