काठमाडौँ/
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताए । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताए ।
उनले यो वर्ष सरकारको नीति तथा कार्यक्रम जसरी आए पनि अर्को वर्षदेखि भने सुधार हुनुपर्ने धारणा राखे । ‘अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसरी हुने हो भने मैले अन्य माननीयहरूलाई पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्तको छलफलमा भाग नलिऊँ । सरकारको पनि समय बरबादी हुन्छ । हाम्रो पनि समय बरबादी हुन्छ । यसलाई बदल्नुपर्छ । बदल्ने तरिका छ । बदल्ने तरिका हामी मिलेर बदल्ने हो ।’
