काठमाडौँ। विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खुलेको छ । सीईओ पदका लागि दरखास्त दिने म्याद आजदेखि १५ दिनको समय छ ।
ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष हुने यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्दछ ।
साथै इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कम्तीमा दुई वर्षको कार्य अनुभवसहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।
त्यस्ता व्यक्ति ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको पनि हुनुपर्दछ । योग्यता पुगेका नेपाली नागरिकले दरखास्तसँगै आफ्नो बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना समेत बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले चार वर्षको हुन्छ ।
