सुचना, समाचार र मनोरन्जन

नागढुङ्गा सुरुङमार्गमा एक वर्षभित्र गाडी चलाउने गरी कामलाई तीव्रता दिन्छौँ: मन्त्री ज्वाला

काठमाडौँ/

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चलाउने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन । नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा उनले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताएका हुन ।

मन्त्री ज्वालाले भने, एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौ उनले भने,केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गर्छौँ र छिट्टै समाधान गर्छौँ ।

सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको उनले बताए ।

आउँदो दशैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने नागढुङ्गा सडक आयोजनाले जनाएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको हो ।

यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा पनि कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताए । सडक अनुगमनका क्रममा आज उहाँले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध गरेका छन ।

उनले भने,उनीहरुको समस्या पनि समाधान गर्छौँ, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन । समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय गर्दै गएका छौँ । उनले थपे,यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्‍यो समाधान गर्छौँ, क्याबिनेटबाट गर्नुपर्छ कि, मन्त्रालयबाट गर्नुपर्छ कि, ऐन कानुन हेरफेर गर्नुपर्छ कि, सबै कुराका निम्ति तयार छौँ ।

यो सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुङ्गा नौबिसे खण्डको प्रगति राम्रो देखिएको उनले बताए । उनले काठमाडौँ जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधन गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । यो सडक विश्व बैंकको सहयोगमा बनिरहेको छ ।

कमेन्ट्स
Loading...