पोखरा/
इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो ।

आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताए ।
नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनफनले योगदान गरेको छ ।
अध्यक्ष तिमोथीले भन्नुभयो“नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।”
रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ ।
कुष्ठरोगलाई यसबाट प्रभावितहरुको समस्याको रुपमा मात्र नलिईकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले बताए ।
आइएनएफको रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताए ।
कुष्ठरोगका बिरामीहरुलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामुलक कार्यक्रम सहित परिर्वतन ल्याउन सके बिरामीहरुको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीहरुप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ। बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । विरामीको उच्च मनोवल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगीहरु बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गरे । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाए ।
प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।
कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताए ।
उनले कुष्ठरोग शुन्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताए । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उनले बताए ।
कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका विरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।
कार्यक्रममा आइएनएफ बोर्डका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारी, आइएनएफ अष्टे«लियाका प्रमुख कार्यकारी अधिृकत वेन थर्ली, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रसन्न नापित, पोखरा—१५ का वडाध्यक्ष तोरणबहादुर बानिया, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले कुष्ठरोगमुक्त नेपाल बनाउने सरकारी अभियानमा आइएनएफले तयारी गरेको रणनीतिक योजनाले महत्पूर्ण भूमिका खेल्ने बताए ।