पोखरा /
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतामा आधारित भएर स्थापित र क्रियाशील संस्थाहरू अब्बल मोडेल बनेको जनाउँदै हिमालय आँखा अस्पताल देशकै उत्कृष्ट नमुना भएको बताए ।
नेपाल नेत्रज्योति संघ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पतालको २८ औं वार्षिकोत्सव तथा दृष्टि परिक्षण भवनको उद्घाटन समारोहमा गरुङले विकास र समृद्धि जनताका लागि भएकाले राम्रोसँग चलेको संस्थालाई अझ राम्रो बनाउनु राज्यको दायित्वभित्र पर्ने बताए । उनले सेन्टर अफ एक्सिलेन्सका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेकोले अर्को आर्थिक वर्षमा आधुनिक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिवद्धता गरे ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा.चेतराज पन्तले आँखाका विरामीलाई कुनै अर्को अस्पतालमा सिफारिस गर्न नपरोस भनेर ‘सेन्टर फर एक्सिलेन्स’को अवधारण आएको बताए । पन्तले पोखरामा मेडिकल टुरिजमको सम्भावना छ त्यसमा पनि पोखराको प्राकृतिक सुन्दरता हेर्न ‘आँखा स्वास्थ्य पर्यटन’को अवधारणा विकास गर्न जोड दिए । संघको मातहतमा २० वटा आँखा अस्पताल र १ सय २७ केन्द्र सञ्चालनमा रहेको छन् । ३० वर्षपछि संघले देशको आँखा सर्भे सम्पन्न गरेको छ ।

सर्भेले गण्डकी प्रदेशमा ५० वर्षभन्दा माथिका ४ लाख नागरिक आँखाका रोगी भएको तथ्याङ्क दिएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य प्रा.डा. दिलबहादुर क्षेत्रीले स्वागत मन्तव्य दिर्दै नेदरल्यान्डको आइकेयर सेन्टरको सहयोगमा स्थापित अस्पताल आज आफ्नै स्रोतमा सञ्चालित हुनु गौरवको कुरा भएको बताए । क्षेत्रीले संघ सरकारबाट भवन मर्मतका लागि १० लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उपकरणका लागि ४० लाख, भवन निर्माणका लागि आवास तथा भौतिक मन्त्रालयबाट ७० लाख र नेदरल्यान्डबाट वार्षिक करोड सहयोग हुँदै आएकोे जानकारी दिए ।
कामु मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले अस्पतालले गण्डकी, धौलागिरी र कर्णाली क्षेत्रका वासिन्दालाई आँखा उपचारमा सहयोग पु¥याएको जानकारी दिइन । मुलुकको २५ प्रतिशत भूगोलका १० प्रतिशत भन्दा बढी नागरिक हिमालय आँखा अस्पतालको सेवाबाट लाभान्वित भएको उनले बताइन ।
भौतिक पूर्वाधार मन्त्रालयका कार्यालय प्रमुख डा. महेन्द्रबहादुर पाण्डेले २०६५ चैत्रमा सुरु गरेर २०७६ माघ १२ गते सम्पन्न भएको दृष्टि परीक्षण भवन ६९ लाखमा संझौता भए पनि ६२ लाखमा सम्पन्न भएको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका थिए । वार्षिकोत्सवका सन्दर्भमा अस्पतालको वार्षिक प्रतिवेदन ‘हिमालय इन्साइट’ को विमोचन भएको थियो भने पुरष महिला भलिवल र वास्केटबल प्रतियोगिताका विजेजा तथा उपविजेतालाई मेडल र प्रमाणपत्र दिइएको थियो ।
प्राविधिक तर्फकी उत्कृष्ट कर्मचारी शल्यक्रिया सहायक मीना राई र प्रशासन तर्फकी कार्यालय सहायक तुल्सीकुमारी ढकाललाई जनही २०÷२० हजार नगद र कदरपत्रद्वारा सम्मानित गरिएको थियो । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष प्रेमकुमार नकर्मीले रक्तदान र आँखादान कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव अधिवक्ता सुरेन्द्र थापा मगरले गरेका थिए ।