चितवन/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन । आज बिहीवार भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ भने ।
नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।’ ६२ वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्त्व बोकेको उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।
उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागिपरेको बताउनुभयो । उनले भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्त्वका साथ छलफल गर्नेछु ।’
लुम्बिनी विमानस्थलको विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलको विषयमा चीनसँग छलफल गर्ने उनले बताए । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्त्वका साथ अघि बढाएको उनको भनाइ छ । द्रुत मार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए ।
चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो ।’ विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रूपमा काम गर्ने उनको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेकलाई भरतपुर महानगरपालिका–१ को दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उहाँले स्थानान्तरणका लागि एक–दुई दिनमा सहमति हुने बताए ।
फरक प्रसङ्गमा प्रचण्डले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरु हुने जानकारी दिनुभयो । रङ्गशालाको समस्या एक–दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उनले बताए ।
। उनले भने, ‘त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण अगाडि बढ्छ ।’
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताए । ग्रामीणस्तरको ‘लाइफलाइन’का रूपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो । उनले भने, ‘हवाई सुरक्षामाथि उठेका प्रश्न शून्य बनाउँदै ग्रामीणस्तरमा समेत सेवा पुर्याउन लागिपरेका छौँ ।’ नेपाल वायु सेवा निगमका जहाजलाई अन्तर्राष्ट्रियस्तरमा र आन्तरिकस्तरमा समेत प्रभावकारी बनाउने उनले बताए । उनले थपे, ‘पर्यटकीय क्षेत्रमा नयाँ उडान गर्ने योजना रहेको छ ।’
भरतपुर विमानस्थलको विस्तार र ट्रमिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने उनको भनाइ थियो । त्यस अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले भरतपुर विमानस्थल विस्तारको कामले बाग्मती प्रदेशमा नै खुसियाली छाएको बताए। काठमाण्डौपछि प्रदेशमा दोस्रो ठूलो विमानस्थल चितवनमा बन्न लागेको भन्दै उनले यसमा आवश्यक सहयोग प्रदेश सरकारलेसमेत गर्ने बताए । उनले भने, ‘विमानस्थलको विस्तारका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको छ ।’
नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन १९६१ मार्च ५ मा भएको थियो । सन १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरूपमा उपभोग गर्न सक्ने गरी बनाउन लागिएको छ ।
१४ कट्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुई तले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठ तले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि एक अर्ब ९२ करोड रुपैयाँमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका छन् ।
