सुचना, समाचार र मनोरन्जन

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी /

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।

यसअघि गत शुक्रबार चैत शुक्ल चौथी {चतुर्थी}का दिन ‘नहाय–खाय’ {पवित्र स्नान गरेर शुद्ध खाने} विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरी सकेका छन् ।

‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर व्रर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन व्रतालुले व्रत सङ्कल्प गर्ने चलन छ ।

व्रतालुले षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य {अर्घ} दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा {गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार}, भुसुवा {कसार} र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ ।

कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । अब भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई व्रतालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । भोलि सप्तमीका दिन बिहान घाटमै उदाउँदा सूर्यलाई अघ्र्य {भोरका अरख} दिएपछि यो पर्व समापन हुन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा {कसार} सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीलगायत सामग्री व्रतालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

मिथिलामा यो पर्व द्वापर युगमा जाम्बवतीका गर्भबाट उत्पन्न कृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि यो प्रारम्भ भएको मानिन्छ । यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चैती छठसँगै मिथिलामा आज नयाँवर्ष प्रारम्भमा जुडशीतल र वासन्ती नवरात्र {चैते दसैँ} पनि मनाइँदैछ । मिथिलामा वैशाख सङ्क्रान्ति र त्यसको भोलिपल्ट गरी दुई दिन जुडशीतल मनाइन्छ ।

पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिन {आज, वैशाख २ गते}लाई ‘जुडशीतल’ भनिन्छ । पर्वका अवसरमा आज हिलो खेलेर वर्षौंभरि सहकालको कामना गरिन्छ । पर्वमा दहीकरी, बरीकरी, काँचो केरा, लौका र परवलका तरुवा, सजिउनको तरकारी पनि खाने परम्परा छ ।

Leave A Reply

Your email address will not be published.