सुचना, समाचार र मनोरन्जन

‘मिस्टर एण्ड मिस विश्वकर्मा गण्डकी’को उपाधि अनिल र बचनलाई

पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटनमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट बन्दै उनीहरुले उपाधि हात पार्न सफल भएको प्रतियोगिताका निर्देशक सञ्जय विश्वकर्माले बताए ।

पोखरा /

पोखरामा आयोजित मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी–२०२३ को उपाधि अनिल विश्वकर्मा र बचन विश्वकर्माले चुमेका छन् । पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटनमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट बन्दै उनीहरुले उपाधि हात पार्न सफल भएको प्रतियोगिताका निर्देशक सञ्जय विश्वकर्माले बताए ।

पुरुषतर्फ मञ्जिल सुनार फस्ट रनर्स अप र रुपेश सुनार सेकेन्ड रनर्स अप बन्न सफल भए । महिलातर्फ रेश्मा घताने फस्ट रनर्स अप र अस्मिता विश्वकर्मा सेकेन्ड रनर्स अप बने ।

विब्रोस इन्टरटेन्मेन्ट र विश्वकर्मा समाज समिति चितवनले विश्वकर्मा समुदायको युवायुवतीहरूको प्रतिभा प्रस्फुटन गराउनका लागि यो प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता गण्डकी प्रदेशमा बसोबास गर्ने विश्वकर्मा समुदायका युवायुवतीलाई लक्षित थियो ।

अनलाइन मार्फत भएको अडिसनमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ६० जना सहभागी बनें । उनीहरु मध्ये १८ जना फाइनलको लागि छानिएका थिए । यसरी छानिएका उत्कृष्ट ८ पुरुष र उत्कृष्ट १० महिलालाई विभिन्न चरणमा तालिम प्रदान गरेर अन्तिम प्रतिष्पर्धामा उतारिएको निर्देशक विश्वकर्माले खुलाए । तालिममा सञ्जय विश्वकर्मा, गणेश बराइली, मनबहादुर लामघादे लगायतले सहजीकरण गरेका थिए।

विश्वकर्मा समुदायका युवायुवतीलाई विभिन्न नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक कार्यमा अग्रसर गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ । उपाधि विजेताले काठमाडौँमा आयोजना हुने मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल सिजन थ्री मा सहभागी हुन पाउनेछन् ।

यस अगाडिको श्रृङखला काठमाडौँमा मात्र केन्द्रित भए पनि यसपालि सबै प्रदेशमा प्रतियोगिता आयोजना गरेर त्यहाँबाट विजेता बनेकाहरूबिच काठमाडौँमा प्रतिष्पर्धा गराउन लागिएको आयोजकले खुलाए । कार्यक्रमलाई सफल पार्न विश्वकर्मा समाज नेपाल र विश्वकर्मा कल्याण समाजले सघाएका थिए ।

प्रतियोगिताको निर्णायकमा रोविन परियार, ज्वालाराज पोखरेल, मिलन थापा, दिनेश विश्वकर्मा र सारिका गुरुङ रहेको प्रतियोगिताका कोरियोग्राफर समेत रहेका सञ्जयले बताए ।

विजेतालाई नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष निर्मल विश्वकर्मा, विश्वकर्मा सेवा समाज कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेको आयोजकको भनाई छ ।

Leave A Reply

Your email address will not be published.