कोरोना कहर सामान्य बन्दै गएपछि कञ्चनपुरबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् ।
स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार उद्योग दर्ता विगत वर्षको भन्दा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) यहाँ एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन् ।
गत चालु आवमा यहाँ ७३४ उद्योगमात्रै दर्ता भएको कार्यालयका सूचना अधिकृत धर्मानन्द भट्टले जानकारी दिए । “यहाँ दिनहुँजसो उद्योग दर्ता गर्ने क्रम बढिरेहको छ”, सूचना अधिकृत भट्टले भने , “कोरोनाका बेला कार्यालय बन्द रहँदा पनि यहाँका सेवाग्राही सेवा लिन पाएका थिएनन् ।” कोरोना कहरमा टोकन प्रणाली लागू गरेर नियमित कामकाज शुरु गरिएको थियो । उनले पछिल्लो समयमा सरकारले महिला उद्यमीका लागि उद्योग दर्तामा गरेका छुटका कारण पनि उद्योग दर्ता गर्ने बढेको बताए ।

“कुनै पनि उद्योग दर्ता गरेको पाँच वर्षसम्म नवीकरण गर्नुपर्ने झन्झट छैन”, उनले भने , “दर्ता भएका उद्योग सञ्चालन भए÷नभएबारे भने अनुगमन भएको छैन ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले स्वदेशमै आयमूलक काममा अग्रसर भइरहेका युवाशक्तिलाई राज्यले सीपमूलक तालिम र विभिन्न प्रकारका अनुदान प्याकेज दिएर प्रोत्साहन गर्नुपर्ने बताए ।
“यहाँ दुई÷चार महिनालाई काम गरेर भएन”, उनले भने , “दीर्घकालसम्म युवाहरुले स्वदेशमै उत्पादनमा लाग्ने बनाउनुपर्छ ।” उनले यहाँ पछिल्लो समय तरकारी खेतीमा देखिएको सक्रियताले भारतलगायत अन्य क्षेत्रबाट आयात हुने तरकारीमा कमी आएको बताए । “कृषिमा मात्रै युवालाई सक्रिय गराउन सके विदेशको कमाइ घरआगँनमै बसेर हुन्छ, आयमूलक व्यवसायले परिवारको दैनिकी पनि चलिरहेको हुन्छ”, उनको भनाइ छ ।
सरकारले कोरोना कहरमा विदेशबाट स्वदेश फर्किएका युवालाई आयमूलक कामका लागि अनुदानसमेत प्रदान गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कहरमा विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई आयमूलक व्यवसायमा लगाउन रु १५ करोड रकमसमेत जिल्लाका कृषि ज्ञान केन्द्रलगायतका निकायमा पठाइसकेको छ ।