सुचना, समाचार र मनोरन्जन

काम्बोडियाका प्रधानमन्त्री दम्पतीसहित विशिष्टहरूले लगाए कोरोनाविरुद्धको खोप

कम्बोडियाका प्रधानमन्त्री दम्पतीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री सम्देच हुन सेन र उहाँकी श्रीमतीले भारतमा बनेको खोप बुधबार लगाएको अधिकारीहरूले जनाएका छन् ।

“प्रधानमन्त्री हुन सेनले भारतमा बनेको खोप लगाएका हुन् ,उनिसंगै उच्च सरकारी अधिकारीहरूले पनि खोप लगाएका छन् ,” कम्बोडियास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ । दूतावासका अनुसार संसद्का अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य मन्त्री, सार्वजनिक यातायात मन्त्रीलगायतले पनि भारतमा बनेको कोरोनाविरुद्धको खोप लगाएका छन् । समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले कम्बोडियामा अनिश्चितकालका लागि खेल गतिविधिहरू बन्द गरिएको छ ।

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । “पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ,” शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।

जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षणलगायतका कुनै पनि गतिविधि गर्न नपाइने वक्तव्यमा उल्लेख गरिएको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्रसमेत बन्द गरिएको छ । त्यसैगरी भीडभाड हुने अन्य गतिविधिहरूका लागि पनि प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । भारतले गत फेब्रुअरी ६ मा कम्बोडियालाई भारतमा बनाइएको एक लाख खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

भारतको सो निर्णयबाट भारत र कम्बोडियाको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको पनि अधिकारीहरूले बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको आग्रहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराएका थिए । भारतले गत जनवरी २० देखि भूटान, माल्दीभ्स, बहराइन, नेपाल, बङ्लादेश, म्यानमार, श्रीलङ्कालगायतका देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।

भारतमा पनि उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । उनीहरुले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वानसमेत गरेका छन् ।

कमेन्ट्स
Loading...