पोखरा /
नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापती शेरबहादुर देउवाको अहिलेको उदासिनता रहस्मय भएको बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पूर्णप्रसाद मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित पूर्णप्रसाद मायादेवी पत्रकारिता पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले नेपाली कांग्रेसको संसदमा सानो संख्या भएता पनि नेपालको राजनीतिमा कांग्रेसको विशिष्ठ भूमिका रहेको बताए । उनले नेपाली राजनीतिक क्षेत्रमा कांग्रेसले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्रदेश एकमा भएको संसद विघटनको घटनाका विषयमा बोल्दै नेता पौडेलले आफुले सभापतिलाई पटकपटक एक नं प्रदेशको सरकार र बागमती प्रदेशको सरकार ढलाउन आग्रह गर्दा पनि सभापतिले नसुनेको गुनासो गरे । “अहिलेको केपी ओलीको सरकार गिराउन समेत कांग्रेसले प्रमुख भूमिका खेल्नुपर्ने थियो । मैले पटकपटक सभापतिलाई सुझाव समेत दिएको छ ।
तर खै थाहा छैन, उहाँ के मा अल्झिरहनुभएको छ । नेतृत्व कमजोर हुँदा भोलीका दिनमा समस्या समग्र पार्टीले भोग्नुपर्ने निश्चित छ । त्यसैले कांग्रेस नेतृत्वले समयमै ध्यान पुर्याउनुपर्ने आवश्यकता छ ।”, उनले भने । नेता पौडेलले धुरमुर नीतिले राष्ट्रको राजनीतिमा कांग्रेसले भूमिका खेल्न नसक्ने बताएका छन् । उनले भनेका छन्, “ राष्ट्रको राजनीतिलाई अराजकता तिर लान खोजिएको छ । यो अराजकताको अन्त्य कांग्रेसले दरो निर्णय गरेर गर्नुपर्छ ।” उनले अनिर्णयको शिकारमा कांग्रेस नेतृत्व पर्न नहुने सुझाव दिएका छन् ।
उनले सभापतिलाई आफुले पटकपटक फोन गरेर दोधारमा नबसी एउटा टुंगोमा पुग्न आग्रह गरिरहेको जानकारी गराए । जनतासमाजवादी पार्टीका नेताहरुलाई केपी ओलीले जेजे आश्वासन दिएका छन् त्यो कांग्रेसले गरिदियोस् भनेर आफुले सभापतिसमक्ष प्रस्ताव राखेको उनले बताए । जनता समाजवादी पार्टी र माओवादी केन्द्रलाई पनि साथ लिएर अहिलेको केपी नेतृत्वको सरकार ढलाइदिउ भन्ने सुझाव दिँदादिँदै पनि नेतृत्व अल्मिलिएको गुनासो उनले पोखे ।
“अनिर्णयको स्थितिमा कांग्रेस रहे फेरि पनि उल्टो दिशातर्फ फर्किनुपर्ने बाध्यता नआउला भन्न सकिदैन”, नेता पौडेलले भने,“ यहाँ धेरै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु चलिरहेका छन् । यो देशमा थरिथरिका राजनीतिक खेलाडीहरु छन् । ” उनले नेपालका राजनीतिक गर्ने पार्टीहरुले यो खेललाई अरुका हातमा जान नदिएर हाम्रै हातमा राख्नुपर्ने गरी काम गर्न सुझाएका छन् ।
राष्ट्रको भाग्यको निर्णय, लोकतान्त्रिक प्रक्रियाको रक्षा, संविधानको रक्षा, प्रणालीको रक्षा, व्यवस्थाको रक्षाका लागि आत्मविश्वास साथ लागिपर्न पौडेलको सबैलाई आग्रह छ ।