पोखरा /
प्रस्याङमा करिब १ करोड लागतमा ‘प्रस्याङ बगैचा पार्क’ बन्ने भएको छ । पार्कलाई सौन्दर्यकरण तथ भौतिक संरचना निर्माणकार्यको आज गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका छन् ।
पार्क निर्माणको शिलन्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले कुरा भन्दा कामलाई महत्व दिएको बताए । आउदो असारसम्म यो एउटा सुन्दर पार्कमा परिणत भैसक्ने दावी समेत गरे । गण्डकी प्रदेश उज्यालो प्रदेशको रुपमा रुपान्तरणको अन्तिम अवस्थामा रहेको मन्त्री बस्नेतले बताए ।

त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश सांसद् राजिव पहारीले प्रदेशमा पछिल्लो चरणमा विकासका कामले द्रुत गति लिएको बताएका छन् । स्वदेशी तथा विदेशी पर्यटक गण्डकी प्रदेश तथा पोखरा घुम्दा आउँदा एक पटक प्रस्याङ बगैचा पार्क जानै पर्छ भन्ने वातावरण यो पार्कले सिर्जना गर्ने सांसद् पहारीको भनाई रहेको थियो ।
त्यस्तै कार्यक्रम पार्क संचालन समितिकी संयोजक अञ्जु क्षेत्रीले प्रस्याङ बगैचा पार्क गण्डकी प्रदेशकै नमूना पार्कको रुपमा विकास हुने धारणा राखिन् । बागलुङ हाइवेसँगै भएकाले केही समय पार्कमा पसेर जान मन लाग्ने वातावरण सिर्जना हुनेमा ढुक्क रहेको उनको भनाई छ ।
गण्डकी प्रदेशको भौतिक विकास मन्त्रालय अन्तरगतको भवन तथा शहरी विकास कार्यालयको रकमबाट उक्त पार्क निर्माण हुनेछ । कुल लागत अनुमान ८५ लाख १६ हजार ५ सय २६ रुपैया रहेको छ । यो लागत भ्याट र पिएस बाहेकको हो । पार्क २०७८ असार २० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ ।