काठमाडौं /
नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदैछ ।
स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
राणा शासनको विरोध गरेको आरोपमा उनका पिता कृष्णप्रसाद कोइराला देश निकाला भएपछि कोइराला परिवार भारतमा बस्दै आएको समयमा गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो ।
६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए । उनको ८५ वर्षको उमेरमा ०६६ साल चैत ७ गते निधन भएको थियो।
