सुचना, समाचार र मनोरन्जन

जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौं : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

विजयोत्सवको रूपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा बुधबार शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।

‘जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरूलाई पनि जोगाऔं । कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौं ।’
पाल्पामा मनाइँदै आएको भगवती जात्राले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिंड्न प्रेरित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाइँलाई सम्झदै सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रुपमा अघि बढ्न आग्रह गरे । ‘भगवती जात्रा पुर्खाले राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहास सम्झाउने उत्सव हो । दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउँछ,’ मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

यस वर्षदेखि प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कमेन्ट्स
Loading...