सुचना, समाचार र मनोरन्जन
kumdini

प्रत्येक वर्ष सभ्य बन्दै होली

तराईका जिल्लामा आज फागु पर्व मनाइँदै छ।

फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा होली पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष क्रमश स् सभ्य रुपमा मनाउन थालिएको छ।

केही वर्षअघिसम्म फागु पूर्णिमा होलीमा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो। तीन चार वर्ष त्यस्तो काम रोकिएको छ। केही वर्षदेखि नै फागु पूर्णिमामा तडकभडक रोकिँदै आएको थियो। गत वर्षदेखि नै नेपाल कोरोनाको उच्च जोजिममा रहेकाले प्रशासनले शान्त रुपमा पर्व मनाउन आह्वान गरेको थियो। पर्वका अवसरमा आज फागु खेल्ने प्रायः बालबालिका भेटिए।

बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेनन्। गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य देखियो। गौशाला चोकमा फागु पर्व मनाइरहेका युवा सुरेश नेपाल चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगरेको बताउँछन्। चिसो कायमै रहेका कारण पानी छ्याप्दा कोरोनाका जीवाणुले असर गर्न सक्ने भएकाले पनि आम मानिस गत वर्षदेखि नै फागु खेल्न सचेत भएका देखिन्छन्।

उपत्यकामा वायु प्रदूषण बढेकाले पनि धेरै मानिस घर बाहिर निस्किएनन्। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देशका रुपमा फागु मनाउने गरिएको हो। विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वकै दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको वीर अस्पतालमा बिरामी भेटेर फर्केकी सानु चालिसेले बताइन्। यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।

British college

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फाल्गुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो।

राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ। फागु पूर्णिमाको पौराणिक महत्व त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्।

निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। यस पर्वका उपलक्ष्यमा हिजोआज रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ।

तराईका जिल्लामा आज फागु पर्व मनाइँदै छ।

कमेन्ट्स
Loading...