चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप सोमबार बिहान आइपुगेको हो ।
त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । आज बिहान बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर खोप ल्याइएको हो ।
चीन सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने छ।
यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।