पोखरा /
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले नयाँ वर्ष २०७८ का अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । ट्रेड युनियन कास्कीको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पत्रकारहरुलाई बधाई समेत दिइएको छ ।
शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले प्रजातन्त्र रक्षाका लागि कलम चलाउन आग्रह गरे । शर्माले तानाशाही प्रवृत्तिको कालो बादल मडारिरहेको अवस्थामा पत्रकारको अहम भुमिका रहेको बताए । प्रजातन्त्रको रक्षा भए सम्पुर्ण श्रमजीविको रक्षा हुने उनको भनाई थियो ।
ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य जीतबहादुर गुरुङले जीतको दम्भ देखाए विस्तारै पतन हुने बताए । उनले दुई तिहाइ बहुमतको सरकारले समेत दम्भ देखाउँदा परिणाम भयावह भएकाले कांग्रेस सभापति पनि पार्टी भित्रै दम्भ गर्ने प्रयास गरिरहँदा चिप्लीन सक्ने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भलाई चिर्ने काम पत्रकार महासंघ केन्द्र, प्रदेश देखि जिल्ला सम्मको नतिजाले देखाइसकेको हुँदा कांग्रेस भित्र नै त्यस्तो अवस्था आउनसक्ने सम्भावना देखिएको बताए । उनले पत्रकार पनि श्रमजीवि भएका कारण श्रमिकहरुको आवज बुलन्द पार्न सधैँ तत्पर रहनुपर्ने उल्लेख गरे ।
नव निर्वाचित पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ट्रेड युनियनको सम्मानले श्रमजीवी पत्रकारको हकहितका लागिमात्र नभई हरेक क्षेत्रका श्रमिकको आवाज उठाउने जिम्मा थपिदिएको बताइन् । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले श्रमजीवी पत्रकारका लागि निकै चुनौती रहेकाले ट्रेड युनियन जस्ता संगठनले समेत समय समयमा खबरदारी गरिरहन आवश्यक रहेको औंल्याए । प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले पत्रकार महासंघ सम्पुर्ण पत्रकारको घरभएकाले पत्रकार हकहितका लागि अग्रसर रहन आग्रह गरे ।