सुचना, समाचार र मनोरन्जन

सन्चारिका पत्रकारिता पुरस्कार पौडेललाई, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्डबाट काफ्ले सम्मानित

सन्तोष बस्याल, पोखरा ।

सन्चारिका पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार सुष्मा पौडेल सम्मानित भएकी छिन् । शनिबार सन्चारिका समूह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण, सम्मान तथा बधाई कार्यक्रमबाट पौडेल सम्मानित भएकी हुन् । सोही अवसरमा गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्डबाट प्रतिक्षा काफ्लेलाई सम्मान गरिएको छ ।

दुवैलाई गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले सम्मान गरिन् । पौडेललाई नगद २५ हजार एक सय, सम्मान पत्र र दोसल्लाले सम्मान गरियो भने काफ्लेलाई नगद १० हजार, सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । पौडेल फ्रेसन्युज डटकम र रेडियो जननीमा आबद्ध छिन् । काफ्ले कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा आबद्ध छिन् ।

विगत दुई दशक देखि पोखरामा रहेर निरन्तर पत्रकारिता गर्दै समाजमा आफुलाई स्थापित गराउन सफल भएको भन्दै पौडेललाई सम्मान गरिएको हो । पौडेल मानव सेवा आश्रममा समेत आबद्ध छिन् । स्याङजा स्थाई घर भई एक दशक देखि अनवरत रुपमा पत्रकारितालाई नै मुख्य पेशा बनाउँदै आएकी प्रतिक्षालाई गुरुङ ब्युटी पार्लरकी संचालक सौन्दर्यकर्मी चिनु गुरुङद्वारा स्थापित गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्डबाट सम्मानित गरिएको हो ।

पुरस्कृत हुँदै पौडेलले आफुलाई जिम्मेबारी थपिएको बताएकी छिन् । परोपकारी पत्रकारितामा विशेष दखल दिँदै आएकी पौडेलले आगामी दिनमा समेत पत्रकारिता सँगै समाजसेवामा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन् । अवार्डका लागि आफुलाई योग्य ठानेकोमा प्रतिक्षा काफ्लेले सन्चारिका समूह गण्डकी प्रदेशलाई धन्यवाद दिएकी छिन् । आगामी समयमा कलममार्फत नै समाजका गतिविधिलाई आम जनमानसमा पुर्याउन आफुलाई उक्त सम्मानले झक्झक्याउने उनले बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गण्डकी प्रदेशकी उपसभामुख शर्माले महिलाहरु पत्रकारिता क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा निपुण हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्,“महिलाहरु अब पत्रकारिता क्षेत्रमा मात्रै अब्बल भएर हुँदैन । सबै क्षेत्रमा उत्तिकै दखल पुग्ने गरी काम गर्नुपर्ने हुन्छ । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा समेत महिलाहरुको सहभागिता बलियो हुनुपर्ने आवश्यकता छ ।” शर्माले सकरात्मक सोचका साथ लागि परे सफल अवश्य भइने विषयलाई उठान गरेकी छिन् । उनले दुरदराजमा समस्यामा रहेका महिलाहरुको आवाजलाई बुलन्द पार्ने गरी कलम चलाउन सन्चारिका समूहमा आबद्ध पत्रकारलाई आग्रह गरेकी छिन् ।

नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष नेतृ लक्ष्मी पाण्डेले चैत २५ गते भएको पत्रकारहरुको निर्वाचनको नतिजाबाट राजनीतिक दलहरुले पाठ सिक्नुपर्ने आवश्यकता औंल्याइन् । उनले पत्रकारलाई कुनै पार्टीको सदस्य भएर कलम चलाउनुभन्दा पनि निर्भिकताका साथ कलम चलाउन आग्रह गरिन् ।

न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरुले महिला पत्रकारका उठेका समस्याका विषयहरुलाई न्युनिकरण गर्न सन्चारिका समूह सबल ढंगले लागिपरेको बताए । उनले प्रभावकारी पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धिलाई तिर्खादै लैजानुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले सन्चारिका समूह नेपाल गण्डकीका साथमा पत्रकार महासंघ हरहमेशा रहने प्रतिबद्धता व्यक्त गरिन् । महिला पत्रकारका समस्यालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमलाई समेत आफुले जोड्दै लैजाने उनले बताइन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले श्रमजीवी पत्रकारका लागि सरकारी तवरबाट नै सोच्नुपर्ने बेला आएको बताए ।

सन्चारिका समूह नेपाल गण्डकी प्रदेशकी निर्वतमान अध्यक्ष पत्रकार जमुना वर्षा शर्माले महिलाहरु अब नेतृत्वमा पुग्न सक्षम रहेको भन्ने शुभ सन्देश सन्चारिका समूहले प्रवाह गरेको उल्लेख गरिन् । जसको परिणाम पत्रकार महासंघको हालको निर्वाचन रहेको उनको भनाई थियो ।

विश्व हिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वती पौडेलले संस्कार र संस्कृृतिको आक्रमणको विरोधमा पत्रकारलाई कलम चलाउन आग्रह गरेकी छिन् । धर्म नै सबै भन्दा बलियो सेतु भएको उल्लेख गर्दै सोको सापेक्षमा निर्भिकताका साथ अगाडि बढ्न उनको अनुरोध छ ।

कार्यक्रममा पुरस्कृत पौडेलका बारेमा नेपाल पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोलेका थिए भने काफ्लेका विषयमा सन्चारिका समूह गण्डकी प्रदेशकी सचिव कन्चन थापाले बोलेकी थिइन् । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारीलाई समेत बधाई सहित सम्मान गरिएको थियो ।

कास्कीका निर्वाचित अन्य पत्रकारलाई समेत बधाई दिइयो । सन्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष स्मिता अधिकारीले स्वागत गरेको कार्यक्रमलाई महासचिव कविता श्रेष्ठले संचालन गरेकी थिइन् ।

कमेन्ट्स
Loading...