सुचना, समाचार र मनोरन्जन

विवादित अध्यादेश फिर्ता लिन आलटाल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश फिर्ता गर्न आलटाल गरेका छन् । अध्यादेश फिर्ता गर्ने नेकपा स्थायी कमिटी बैठकको बुधबारको निर्णय कार्यान्वयन गर्न ओलीले ढिलाइ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा पनि अध्यादेश फिर्ता गर्ने विषयमा केही बोलेका थिएनन् । बरू बिहीबार उनले अध्यादेशअनुसारै परिषद्को बैठक बोलाएपछि नेकपा वृत्तमा दिउँसो केहीबेर हल्लाखल्ला भएको थियो । त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेर परिषद्को बैठक तत्काल स्थगित गर्न आग्रह गरेका थिए ।

‘प्रचण्ड कमरेडले परिषद् बैठक तत्काल स्थगित गर्नुस् या त त्यसले निम्त्याउने परिणाम भोग्न तयार रहनुस् भनेपछि प्रधानमन्त्री बैठक स्थगित गर्न तयार हुनुभयो,’ दाहालनिकट स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । बैठक स्थगनको जानकारी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई अपराह्न गराइएको थियो । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघिकै बैठकमा अनुपस्थित थिए । प्रधानन्यायाधीश पनि उपस्थित नभए गणपूरक संख्या पुग्दैनथ्यो । अध्यादेशअनुसार पनि बैठक बस्न अध्यक्षसहित ३ जना उपस्थित हुनुपर्छ ।

दाहालले ओलीसँग बुधबारको पार्टी निर्णयअनुसार अध्यादेश फिर्ताको निर्णय गर्न आग्रह गरेका थिए । ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट त्यो निर्णय नहुने र आफूले राष्ट्रपतिसँग परामर्श गरेपछि केही दिनमा अध्यादेश फिर्ता गर्ने बताएका थिए । त्यसैले बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा पनि अध्यादेश फिर्तासम्बन्धी विषय एजेन्डा बनेन । अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गरेपछि राष्ट्रपति कार्यालयले अध्यादेश खारेज गरेर पुरानै ऐन ब्युँताउनुपर्ने कानूनी प्रावधान छ । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट्स
Loading...