सुचना, समाचार र मनोरन्जन

बेलाबेला किन गइरहेको छ बिजुली ?

काठमाडाैं । लोडसेडिङ अन्त्यको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि उपभोक्ताले बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या भोग्न छाडेका छैनन् ।

राजधानीमै यो समस्या कायमै छ । लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल गत भदौ अन्तिममा सकिएपछि उपभोक्ताहरू बत्ती गएपिच्छे फेरि लोडसेडिङ सुरु हुन लागेको भन्दै सशंकित हुन थालेका छन् । उपभोक्ताको यो आशंका कहिले सामाजिक सञ्जालमा पोखिन्छ भने कहिले प्राधिकरणको नो लाइटमा । बिनाकारण विद्युत् अवरुद्ध भएर उपभोक्ता मात्रै हैरान भएका छैनन्, फेरि लोडसेडिङ हुन थालेको हल्लाले प्राधिकरण व्यवस्थापन पनि आजित छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिना भन्छन्, ‘बेलाबेला विद्युत् अवरुद्ध हुँदा फेरि लोडसेडिङ हुन थालेको आशंका गर्नु मनोवैज्ञानिक त्रास मात्रै हो ।’ नयाँ व्यवस्थापन आएपछि चलेको यो आशंकामा कुनै सत्यता नभएको उनी बताउँछन् ।

‘बेलाबेला विद्युत् अवरुद्ध हुने समस्या पहिला पनि थियो, अहिले पनि छ,’ उनले भने, ‘प्राधिकरणले पूर्वसूचना दिएरै मर्मतसम्भारका लागि विद्युत् अवरुद्ध गर्ने गरेको छ, यस्तो सूचना वेबसाइट र एपमा पनि राख्ने गरिएको छ ।’ ठाउँठाउँमा पोल सार्नुपर्ने, ट्रान्सफर्मर सार्नुपर्ने र मर्मत गर्नुपर्ने भएकाले पूर्वसूचना दिएर निश्चित स्थानमा विद्युत् काट्ने गरिएको तिम्सिनाको दाबी छ । उपत्यकामा विद्युत् अवरुद्ध हुनुअघि वेबसाइट र एपमा सूचना दिए झैँ उपत्यकाबाहिर भने स्थानीय एफएम र पत्रपत्रिकामार्फत सूचना दिने गरिएको उनको भनाइ छ ।

‘कहिले बिग्रिएर मर्मत गर्नुपर्ने हुन्छ, कहिले नियमित तालिकाअनुसार मर्मत गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा पूर्वसूचना दिने गरिएको भए पनि एक्कासि बिग्रिएको छ भने पूर्वसूचना दिन सम्भव हुन्न ।’ विद्युत् गृहबाट प्रसारण लाइन हुँदै उपभोक्ताको घरसम्म पुग्दा धेरै भौतिक र प्राविधिक पक्ष पूरा गर्नुपर्ने भएकाले बेलाबेलामा विद्युत् अवरुद्ध हुने तिम्सिनाको दाबी छ ।

‘हाम्रो विद्युत् प्रणाली पुरानो भएकाले पनि बढी मर्मत गर्नुपर्ने अवस्था छ,’ उनले भने । विद्युत् तार पोलको साटो भूमिगत भएपछि यस्तो समस्या नगण्य हुने उनी बताउँछन् । ‘उपत्यकासहित देशैभर विद्युत् तार भूमिगत गर्ने प्राधिकरणको योजना छ । यसको पहिलो चरण काठमाडौंमा शुरू भएको छ,’ उनी भन्छन्, ‘तार भूमिगत भएपछि यस्तो अवस्था आउँदैन ।’ प्राधिकरणले अहिले तार भूमिगत गर्ने पहिलो चरणअन्तर्गत महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने परियोजना सञ्चालन गरिरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजना गत वर्षदेखि सुरु भएको हो । तीन वर्षमा सक्ने लक्ष्य लिइएको भए पनि कोभिड–१९ का कारण यो क्षेत्रमा तार भूमिगत गर्ने काम केही पर धकेलिने प्राधिकरणको विश्लेषण छ ।

दोस्रो चरणमा काठमाडौं र भक्तपुरमा तार भूमिगत गर्ने कामका लागि टेन्डरको प्रक्रिया सुरु भइसकेको तिम्सिनाले जानकारी दिए । तेस्रो चरणमा भने भरतपुर र पोखरामा तार भूमिगत गर्ने प्राधिकरणको तयारी छ । उपत्यकाको वितरण प्रणाली पुरानो भए पनि प्राविधिक रूपमा जाडो महिनामा पनि पिक डिमान्ड धान्न सक्ने अवस्थामा रहेको तिम्सिना बताउँछन् ।

गत वर्ष मध्य पुसमा उपत्यकामा पिक डिमान्ड सबैभन्दा बढी ४ सय १६ मेगावाट पुगेको थियो । ‘यो वर्ष सोमबार उपत्यकाको पिक डिमान्ड ३ सय २५ मेगावाट र आइतबार ३ सय १७ मेगावाट थियो,’ उनले भने, ‘यो वर्ष पनि मध्य पुसमा पिक डिमान्ड गत वर्षकै हाराहारीमा पुग्ने अनुमान छ ।’ उपत्यकामा यो पिक डिमान्ड धान्न सक्ने क्षमता रहेको उनको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट्स
Loading...