सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश : कार्यव्यवस्था परामर्श समितिको बैठक मिति तोकियो, अधिवेशन हुने नहुने पर्ख र हेरको अवस्थामा 

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल, पोखरा /

वैशाख १५ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव उपर छलफल हुँदै थियो । सोहि दिन अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा मतदानको समय तोकिएको थियो । छलफलमा सांसदहरुले आ—आफ्ना धारणा राखिरहेका थिए । बोल्ने वक्तामा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाहीको समेत नाम उल्लेख थियो । तर अधिवेशनको मध्य समय सम्म पनि शाही उपस्थित नभएपछि खोजी कार्य शुरु भयो । सम्पर्क गर्न खोज्दा फोन लागेन । पछि एक्कासी उनी चरक मेमोरियलको आइसियू कक्षमा भर्ना भएको खबर आयो । बिहान सम्म ठिकठाक भएका शाही दिउँसो अस्पतालको बेडमा भेटिए ।

शाही अस्पतालमा भर्ना भएको खबर पाउने वित्तिकै राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले अधिवेशनको स्थगित गर्न माग गरिन् । सभामुख नेत्रनाथ अधिकारीले शुरुमा २० मिनेटका लागि अधिवेशन स्थगित गरे । त्यसको केही घण्टामै उनले अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको घोषणा गरे ।

शाही एक्कासी विरामी हुनु र सभामुखले अधिवेशन स्थिगित गर्नुलाई विभिन्न टिकाटिप्पणी समेत गरियो । अचम्मको कुरा त शाहीको कोरोनाको रिर्पोट नै तीन वटा आए । जनस्वास्थ्य प्रयोगशालाबाट दुई वटा र लाइफकेयर डाइगोनिस्टक न्युरोडबाट एक वटा रिर्पोट सार्वजनिक गरियो । प्रयोगशालाको पहिलो रिर्पोटमा कोरोना नेगेटिभ देखाइयो । लाइफकेयर डाइगोनिस्टकको पोजेटिभ देखियो । यस्तै, प्रयोगशालाको अर्को रिर्पोट पोजेटिभ आयो । यसले स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत राजनीतिक गर्न खोजेको आरोप प्रदेश सरकारले खेप्नुपर्यो ।

अहिले प्रदेशको विशेष अधिवेशन हुन्छ वा हुँदैन केही टुंगो लागेको छैन । विहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ । सभामुख अधिकारीले मंगलबार ९आज० सर्वदलीय बैठक बोलाएर विहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने विषयमा सहमति भएको जानकारी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दिएका छन् ।

समितिले अबको बैठकमा अधिवेशनको मिति तय गर्नेछ । आजको बैठकमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरि बहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाज पार्टीका हरिशरण आचार्य लगायतको सहभागिता रहेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । जनमोर्चाका ३ सांसद सक्ता जोगाउने वा नयाँ सरकार परिवर्तन गर्ने चाबी हुन् । प्रदेश सभामा नेकपा एमालेको २७, १ स्वतन्त्र, काँग्रेसको १५, माओबादी केन्द्र १२, जसपा २, जनमोर्चाका ३ जना सांसद रहेका छन्। सत्ता टिकाउने बिषयमा केही दिन अघि प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता समेत गरेको अवस्था छ ।

प्रदेशको पछिल्लो राजनीतिक गतिविधिले सिङ्गो मुलुक नै तातिरहेको छ । प्रदेश प्रमुख अमिक शेरचनलाई अचानक हटाएर सिता पौडेललाई नियुक्त गरिनुलाई समेत सत्ताधारी दलको स्वार्थको रुपमा हेरिएको छ ।

कमेन्ट्स
Loading...