सुचना, समाचार र मनोरन्जन

कोरोना सङक्रमितले भरिए अस्पताल : शय्या र अक्सिजनको अभाव

  •  
  •  
  •  
  •  

बागलुङ धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष आईसियूमा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् ।

कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले भने , “शय्यासँगै अक्सिजनको पनि अभाव छ, यसरी नै सङ्क्रमित बढेमा अवस्था चिन्ताजनक हुने देखिन्छ ।” उनका अनुसार पछिल्लो समय भर्ना भएका अधिकांश बिरामीलाई उच्च मात्रामा अक्सिजन दिनुपर्ने अवस्था छ ।

“अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ३५ देखि ४० सिलिण्डरसम्म अक्सिजन व्यवस्थापन भएपनि त्यो अपुग छ”, मेसु पाखरेलले भने , “चौबीसै घण्टा सङ्क्रमितलाई हाइ फ्लो अक्सिजन दिएर उपचार गरिरहुनपर्छ ।” अस्पतालको प्लान्टले नधानेपछि अक्सिजन भर्न सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सङ्क्रमितलाई अक्सिजन दिन सिलिण्डरकोसमेत अभाव देखिएको छ । श्वासप्रस्वासको समस्या लिएर आउने सङ्क्रमित बढेसँगै अक्सिजन अपुग हुन थालेको हो । अस्पतालले यथाशक्य चाँडो पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउन गण्डकी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग माग गरेको छ ।

अघिल्लो वर्ष आइसोलेसन कक्षमा ५० शय्या पु¥याउने भनिएपनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । “अस्पताल भवनको सि ब्लक निर्माणमा ढिलाइ हुँदा पनि समस्या भएको छ, आइसोसेलन क्षमता बढाउन अन्यत्र संरचना नै छैन”, मेसु पोखरेलले भने । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीकोसमेत कमी छ ।

दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स दिनरात नभनी उपचारमा खटिएका छन् । गम्भीर लक्षणसहित अस्पताल आउने सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल शैय्या, अक्सिजनलगायतका स्वास्थ्य उपकरण र सेवा थप्नुपर्ने आवश्यकता देखिन्छ । अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष आईसियू र दुई वटा भेन्टिलेटर छन् ।

स्थानीय तहमा भएका कोभिड अस्पतालमा सामान्य अवस्थाका सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामस्थित धवलागिरि अस्पतालमै ल्याउनुपर्ने बाध्यता छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । कोरोनाका कारण जिल्लाका १४ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरले जानकारी दिए । बिहीबार मात्र धवलागिरि अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्ला दिनमा जिल्लामा कोरोना सङ्क्रमण तीव्र बनेको छ । आजै थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण बढ्दै गएपछि आजैदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालनामा स्थानीय प्रशासनले कडाइ गरेको छ । स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका कामलाई अघि बढाएका छन् ।

कमेन्ट्स
Loading...