काठमाडौं /
कोरोना संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ज्यान गएको हो। दाहाल ४० वर्षका थिए।
वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

महासंघले उनको निधनप्रति शोक प्रकट गरेको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ। विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए।
पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए। स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ।
कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेको छ।