सुचना, समाचार र मनोरन्जन

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

काठमाडौँ/

सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।

असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ । यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।

Leave A Reply

Your email address will not be published.