काठमाडौं /
राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले दिएको समय सकिन लाग्दा नेकपा एमालेका अध्यक्ष एंव काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्।
अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना छ । बैठक अहिले जारी छ।
विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी कमिटी बैठक डाकेका हुन्।
बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।
यसैबीच माधव नेपाल पक्षमा राजीनामा दिने सांसदको संख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दवावमा छन् ।आज विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् ।
