सुचना, समाचार र मनोरन्जन

गण्डकीमा कोरोनाका कारण थप १४ जनाको मृत्यु ,५०६ जना नयाँ संक्रमित थपिए

  •  
  •  
  •  
  •  

पोखरा /

गण्डकी प्रदेशमा मृत्यु हुनेहरुको दर बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्र १४ को मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।

निर्देशनालयले आज सार्वजनिक गरेको विज्ञप्ति अनुसार ८ जना पोखराका , ४ जना बागलुङका र एकएक जना म्याग्दी र दाङका रहेका छन् । उनीहरु सबैको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले जानकारी गराए ।

उनका अनुसार मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका १७ का ७३ वर्षीय पुरुष, पोखरा महानगरपालिका ७ का ४५ वर्षीय महिला, पोखरा १७ का ४४ वर्षीय पुरुष, पोखरा ८ का ५० वर्षीय पुरुष, पोखरा १५ का ६५ वर्षीय पुरुष, पोखरा १२ का ७८ वर्षीय पुरुष, पोखरा २६ का ६९ वर्षीय पुरुष र पोखरा १७ का ३० वर्षीय पुरुषको कोरोनाकै कारण निधन भएको हो ।

यस्तै, बागलुङ नगरपालिका ४ का ७७ वर्षीय पुरुष, गलकोट नगरपालिका २ का ५२ वर्षीय पुरुष, ढोरपाटन नगरपालिका ९ का ५७ वर्षीय पुरुष र गलकोट नगरपालिका ३ का ६४ वर्षीय पुरुषको पनि निधन भएको छ । म्याग्दी जिल्ला बेनी नगरपालिका ५ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको डा। शर्माले बताए । उनले दाङ जिल्ला लालमटिया १ का स्थाई बासिन्दा ८० वर्षीय पुरुषको पनि पोखरामा उपचारका क्रममा निधन भएको बताएका छन ।

यो सँगै प्रदेशमा मृत्यु हुनेहरुको संख्या ३१८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेहरु ५०६ जना रहेका छन् । जसमध्ये २३१ जना महिला छन् भने २७५ जना पुरुष रहेका छन् । म्याग्दी, पर्वत, गोरखा, लमजुङ,तनहुँ, कास्की, बागलुङ, स्याङजा र नवलपरासी पूर्वमा संक्रमित थपिएका हुन् ।

म्याग्दीमा २८ जना, पर्वतमा ११ जना, गोरखामा २ जना, लमजुङमा २ जना, तनहुँमा २७ जना, कास्कीमा २१० जना, बागलुङमा ११९ जना, स्याङजामा १६ जना र नवलपरासी पूर्वमा ९१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विज्ञप्तिमा उल्लेख छ ।

सबै संक्रमितलाई आइसोलेसनको व्यवस्थापन गरिएको डा। शर्माले बताएका छन् । यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या प्रदेशमा २५ हजार ९५३ पुगेको छ ।

 

कमेन्ट्स
Loading...