राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ । शनिबार बसेको विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका थिए।

यसपटक अदालतमा रिट निवेदकको तर्फबाट एमाले नेता भीम रावल र कांग्रेस नेता रमेश लेखकले समेत बहस गर्ने भएका छन् ।शनिबार नयाँ बानेश्वर संसद भवनमा बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध न्यायिक र राजनीतिक लडाइ लड्ने निर्णय गरेको थियो ।