सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री र राष्ट्रपतिको कदमप्रति कास्कीका संयुक्त विद्यार्थी संगठनको ध्यानार्कषण

पोखरा /

वर्तमान सरकार स्वास्थ्य सामाग्री खरिदमा कमिशन कुम्ल्याउने धन्दामा लागेको विद्यार्थी संगठनहरुले बताएका छन् । नेपाल विद्यार्थी संघ कास्की, अखिल क्रान्तिकारी कास्की, अनेरास्ववियु कास्की, समाजवादी विद्यार्थी युनियन कास्की र अखिल छैठौं कास्कीले आइतबार संयुक्त वक्तव्य जारी गर्दै अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी जोगाउने खेलमा मात्रै लागेको र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका कर्तुतहरुलाई ढाक्दै गएको आरोप लगाएको छ ।

“देश अहिले कोरोना महामारीबाट आत्रान्त छ । नेपाली जनता यो महामारीबाट मुक्त हुन खोजी रहेका छन् । देशमा भोकमरी लाग्ने स्थिति निर्माण भएको छ । लाखौं विद्यार्थीको भविष्य अन्योल बनेको छ । अस्पतालमा बेड, अक्सिजन,औषधिको हाहाकार मच्चिरहेको छ, लास उठाउने मान्छे छैन । सरकार लाख गन्ने, अक्सिजन सिलिण्डर, कोरोना विरुद्धको खोप, शववाहन जस्ता विषयहरुको व्यवस्थापनमा वर्तमान सरकार चुकेको छ ।”, वक्तव्यमा भनिएको छ ।

विषम परिस्थतिमा सरकार सत्ता र कुर्सीको लागि लडिरहेको र महामारी रोकथाम तथा नियन्त्रणमा कुनै ध्यान नदिएको आरोपन विद्यार्थी संगठनहरुले लगाएका छन् । सर्वोच्च अदालतले पुर्नस्थापना गरेको संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ ७ गते पुनः विघटन गरि मध्यावधी चुनावमा धकेल्नु निन्दनिय रहेको उनीहरुको भनाई छ । ७० वर्षको लामो संघर्षपछि ल्याएको संविधान माथिको प्रहार संविधान र लोकतन्त्र सिध्याउने खेल भएको तर्क उनीहरुको छ ।

राष्ट्र«पति र प्रधानमन्त्रीले नेपाली नागरिकको अधिकार खोस्दै निरंकुश र अधिनायकवाद लादेको कास्की विद्यार्थी संगठनहरुले वक्तव्य मार्फत जनाएका छन् । मध्यावधि चुनावको घोषणा गरेर देश र जनता माथी गैरजिम्मेवारिपना देखाइएको र जनताको स्वास्थ्य माथी खेलवाड गरिएको उनीहरुले बताएका छन् । “ ओली सरकारको गैरजिम्मेवारिपन, निरंकुशता, संसद विघटन, जनताको स्वास्थ्य माथीको खेलवाड विरुद्ध संयुक्त विद्यार्थी संगठन, कास्की जिल्लाको गम्भीर ध्यानार्कषण भएको छ र यसको विरुद्ध सबै एकजुट भएर प्रतिरोध गर्न आह्वान गर्दछौं ।”, वक्तव्यमा भनिएको छ ।

कमेन्ट्स
Loading...