सुचना, समाचार र मनोरन्जन

होटलको पुनरुत्थान गर्न ३ वर्षसम्म कर छुट चाहियोः हान

  •  
  •  
  •  
  •  

पोखरा /

होटल एसोसिएसन अफ नेपाल (हान)ले होटल क्षेत्रको पुनरुत्थानका लागि तीन वर्षका विशेष कर सहुलियतको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । हानले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोभिड विशेष, पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोष सहितको आर्थिक योजना लागु गर्न माग गरेको हो ।

हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘होटलको पुनरुत्थानका लागि तीन वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्मको लागि वर्तमान मूल्यअभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जानाहरुमा पूर्णतः मिनाहा गरिनुपर्छ । होटल क्षेत्रमा संघीय, प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने विभिन्न शीर्षकका प्रत्यक्ष करहरु आगामी तीन वर्षको लागि मिनाहा गरिनुपर्छ ।’

हानले हालको विषम परिस्थितिमा क्वारेन्टिन र आइसोलेसनमार्फत सेवा प्रदान गर्दै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्व बहन गर्नु होटल उद्योगको अवसर नै भएता पनि यसको व्यवसायिक अस्तित्व अत्यन्तै जोखिममा पुगिसकेको जनाएको छ ।

अहिलेको अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भनेर आम व्यवसायीहरु ठूलो अन्योल र सन्त्रासको अवस्थामा सिर्जना भएको अवस्थामा लाखौँ आश्रित कर्मचारी र मजदुरहरुको रोजगारी टिकाउन प्रमुख समस्या भएको पनि हानको भनाइ छ ।

विगत १५ महिनाभन्दा वढीको व्यवसायिक शून्यताले गर्दा कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन जस्तो बहुगुणी व्यवसाय प्रति आर्कषण घट्ने मात्र नभई दीर्घकालीन रूपमा लगानी पलायन भई देश विकासको महत्वपूर्ण हिस्सा पर्यटन उद्योग नै धराशायी हुन पुगेको होटल संघको भनाइ छ ।

पर्यटन उद्योगको प्रकृति फरक हुने भएकोले नै यसको लागि अति प्रभावित उद्योग भनी परिभाषित गरेर मात्र पुग्दैन । अहिलेको समयमा राज्यको नीति–नियम र कानूनी प्रावधानहरुलाई स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गरी होटल उद्योगको संरक्षण गर्न माग पनि हानले गरेको छ ।

जसरी संकटको समयमा राज्यले संक्रमणकालीन कानून र विशेष नीति लागू गर्दछ सोही बमोजिम कोरोनाका कारण गम्भीर संकटमा पुगेर थला परेको होटल तथा पर्यटन उद्योगको लागि सहयोगी व्यवहार सहितको बजेट सहयोगी नीति तथा कार्यक्रमहरु तत्काल लागू नगरिए होटल उद्योग तहसनहस हुन सक्ने तर्फ गम्भीर ध्यानाकर्षण भएको पनि होटल संघको भनाइ छ ।

होटल तथा पर्यटन उद्योगलाई पूर्व लयमा फर्कन लामो समय लाग्ने हुनाले तत्काल व्यवसायिक पुनरागमन हुने अपेक्षा गर्न सकिदैन । परिणामतः कोभिडको कारण पूर्ण रुपमा बन्द रहेका व्यवसाय लामो समयदेखिको ऋणात्मक भएको अवस्था छ ।

सोही कारण नियमित दायित्व वहन गर्न असम्भव भएकैले यो समयमा राज्यको तर्फबाट वृहत पर्यटन पुनरुथान योजना लागू गर्दै चालू आर्थिक वर्षको बजेटमा उपलब्ध गराइएका सुविधाहरु दोब्बर गर्दै बजेट, नीति तथा कार्यक्रमहरुलाई निम्नानुसारका बिषयहरुमा प्राथमिकता प्रदान गर्न होटल संघ नेपाल माग गरेको छ ।

हानले विभिन्न ७ बुँदामा माग गरेको छ ।

– अति प्रभावित उद्योग रुपमा संरक्षण दिन मागः
कोरोना महामारीको संकट संकट समाप्त हुने वित्तिकै तुरुन्त होटल तथा पर्यटन पूर्ववत् अवस्थामा भने फर्कन सक्ने अवस्था नहुने हुँदा बजेटको पहिलो प्राथमिकता अति प्रभावित उद्योगको रुपमा यसको संरक्षण र सम्बधनमा केन्द्रित हुनुपर्छ ।

– संरक्षण कोष स्थापना गरिनुपर्ने :
संकटको समयमा राज्यको उपस्थिति महत्वपूर्ण हुने भएकोले व्यवसायिक लगानीको संरक्षणका लागि अति प्रभावित होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष र यसमा आश्रित कर्मचारी, श्रमिकहरुको लागि रोजगार संरक्षण कोषको लागि व्यवस्था गर्नु अति आवश्यक छ ।

– विषेश सहुलियत सहतिको कर, छुट र मिनाहा सम्बन्धी व्यवस्था दिन माग  :
होटलको पुनरुत्थानका लागि तीन वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्मको लागि वर्तमान मूल्यअभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जानाहरुमा पूर्णतः मिनाहा गरिनुपर्न । होटल क्षेत्रमा संघीय,प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने विभिन्न शीर्षकका प्रत्यक्ष करहरु आगामी तीन वर्षको लागि मिनाहा गरिनुपर्ने माग संघको छ ।

– बैंकिङ्ग सहुलियत दिन माग :
सरकारको नीति अनुसार साँवा व्याज तिर्न समय दुई वर्षको लागि बढाएकोमा क्षणिक राहत भएको तर आम्दानी शुन्य भएको बखतमा दुई वर्षपछि एक मुष्ट रुपमा तिर्नुपर्ने साँवा व्याज लामो अवधिसम्म किस्ताबन्दीमा तिर्ने व्यव्स्था मिलाइनुपर्ने माग पनि संघको छ ।

अति प्रभावित होटल उद्योगको सहायता स्वरुप ब्याज घटाउने, पुनरकर्जा र पुर्नतालिकीकरण समेतलाई निरन्तरता दिन केन्द्रीय बैकले घोषणा गरेको विशेष पुनरकर्जा अझ प्रभावकारी बनाई थप तीन वर्षसम्मको लागि निरन्तरता गरिनुपर्ने । साथै होटलहरुको लगानीको आकार हेरी पुनरकर्जाको सीमा बढाएर दायरा फराकिलो पारिनु पर्ने हुन्छ ।

पर्यटन तथा होटल उद्योगलाई २ वर्ष सम्मको लागि व्याज स्थगनको विशेष व्यवस्था गर्दै बिना ब्याजमा पुँजीकरण गरिने व्यवस्था गर्ने र होटलहरुको संरक्षणको लागि होटल सञ्चालन खर्च बढीमा पाँच प्रतिशत व्याजमा प्राप्त गर्ने गरी उपलब्ध गराइनुपर्छ ।

अन्य सहुलियत कर्जा उपभोग गर्ने ऋणीहरुको लागि समेत यो व्यवस्था लागू गर्दै विषम परिस्थितिमा समयसीमा बढाउदै सहजता प्रदान गरिनुपर्ने छ । साना तथा मझौला होटलहरुको हकमा प्रायःजसो होटलहरु भाडामा रहने हुँदा धितो अभाव भई सहुलियत उपभोग गर्न नपाइरहेको अवस्थामा लगानीलाई आधार मानी पुनकर्जा तथा अन्य कर्जा सहज रुपमा उपलब्ध गराइनुपर्ने माग पनि हानको छ ।

– विद्युत महसुल तथा शुल्क, आर्थिक दायित्व स्थगन :
होटल क्षेत्रका लागि आगामी २ वर्षको लागी विद्युत महशुलमा ५० प्रतिशत छुटको व्यवस्थाका साथै कम्तिमा दुई वर्षका लागि डिमाण्ड शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरी आर्थिक भार न्यूनिकरण गर्दै होटलको संरक्षण गरिनुपर्छ । साथै यो समयमा विभिन्न शीर्षकका शुल्क तथा आर्थिक दायित्व सहितका कानूनी दायित्वहरु स्थगन गर्दै सहजीकरण गरिनुपर्ने माग हानको छ ।

– कर्मचारी तथा श्रमिक कल्याण योजना ल्याउनुपर्ने :
हानले कामदार तथा कर्मचारीहरुको जीवन निर्वाहका लागि ट्रेड युनियनहरुसँग भएको समझदारीअनुसार विभिन्न स्तरका होटलहरुले तोकिएको रकम उपलब्ध गराउँदै आएको छ । यसले कामदार तथा कर्मचारीहरुलाई केही हदसम्म राहत पुगेको भए तापनि कर्मचारी तथा श्रमिकहरुको आवश्यकता पूर्ति गर्न यो समयमा नागरिक लगानी कोषमा जम्मा गरेको रकम मध्ये केही रकम विना व्याज र पछि फिर्ता नगर्ने गरी झिक्न पाउने व्यवस्था गरी सहजीकरण गरिदिनुपर्ने छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भई नियमित योगदान गर्न नसकिरहेका होटलका कर्मचारी तथा श्रमिकहरुको लागि स्वास्थ्य सुविधा यथावत उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा गत बर्षझैं नेपाल सरकारको तर्फबाट योगदान गरी आर्थिक सहयोग प्रदान गरिदिनुपर्ने ।

– आन्तरिक पर्यटन प्रवद्र्धन गरिनुपर्ने :
सरकारले घोषणा गरिएको देश दर्शन कार्यक्रमलाई बढावा दिन सरकारी तथा संगठित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य पर्यटन विदा दिई नगद आर्थिक प्रोत्साहन सहित घुम्न पठाउँदै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न उपयुक्त हुने तवरमा बजेट विनियोजन गरिनुपर्ने छ भने पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमार्फत प्रभावकारी कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनुपर्ने हुन्छ ।

कतिपय उद्योगले निर्यात वापत पाउँदै आएको मौद्रिक प्रोत्साहन वैदेशिक मुद्रा आर्जन गरेवापत होटल उद्योगलाई मौद्रिक प्रोत्साहन उपलब्ध गराउदै व्यवासय सञ्चालनमा नगद प्रवाह कायम राख्न होटलले खरिद गर्दा कर कट्टी गरेको र मिलान गरेर बाँकी रहेको मूल्य अभिवृद्धि कर रकम सुलभ तरिकाले फिर्ता गर्ने व्यवस्था समेत होस । विगतको आर्थिक वर्षबाट हटाइएको ग्याँस तथा डिजेलको मुआकर दावीको व्यवस्था होटल उद्योगका लागि पुनः लागू गरिनुपर्ने पनि हानको माग छ ।

कमेन्ट्स
Loading...