सुचना, समाचार र मनोरन्जन

९० वर्षीया पौडेल कोरोना विजय : एघार दिनको उपचारपछि स्वास्थ्यलाभ

  •  
  •  
  •  
  •  

कोरोना निको भएपछि बागलुङ नगरपालिका–१३ पैँयूपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट आतबार घर फर्किएका छन् । उनलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट शय्यामा राखेर उपचार गरिएको थियो ।

कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा यही जेठ ९ गते उहाँलाई सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन् ।

एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्यलाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताए ।

अस्पताल पुग्दा उनको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मा पुगेको थियो, पखाला, ज्वरोसहितका कडा लक्षण थिए , श्वासप्रश्वासमा समस्या थियो । उनलाई एचडियूमा अक्सिजन दिएर उपचार ग¥र्यौँ, त्यो उमेरमा पनि चाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ”, प्रमुख चिकित्सक पोखरेलले भने ।

पौडेलले यसअघि उच्च रक्तचाप र नशासम्बन्धी रोगको औषधि सेवन गर्दै आए पनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूलाखेतमा छोरा चन्द्रप्रसादसँग बस्दै आएकी पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि सङ्क्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरा भवानीकहाँ बस्न थालेकी थिइन् ।

उनलाई त्यहाँ पनि कोरोनाले छाडेन । सङ्क्रमणपछि केही दिन घरमै एकान्तबासमा बस्नुभएका पौडेललाई जेठ १२ गते राति एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समार्फत तुरुन्त धवलागिरि अस्पताल ल्याइएको थियो ।

बेलैमा स्तरीय उपचार पाएका कारण आमालाई बचाउन सकिएको छोरा चन्द्रप्रसादले बताए । “अस्पतालमा राम्रो उपचार, हेरचाह भयो, चिकित्सकले पनि पूरा समय दिएर हेर्नुभयो”, उनले भने , “कुनै पनि दिन आमाले खाना कम गर्नुभएन, दूध नियमित सेवन गर्नुभयो, यसले पनि छिटो निको हुन सघायो कि”

उपचार, स्वस्थकर आहार र बुढ्यौली उमेरमा पनि आत्मबल हुँदा कोरोनालाई परास्त गर्न हजुरआमा सफल हुनुभएको नाति ज्ञानेन्द्र गौतमले बताए । अर्का नाति सुशील पौडेल नगरपालिकाको स्वास्थ्य शाखामा रहेकाले पनि आवश्यक स्वास्थ्य परामर्श, रेखदेख र समन्वयमा सहजता मिलेको छोरा चन्द्रप्रसादको भनाइ थियो । धेरै उमेरकी पौडेललाई कोरोना लाग्दा परिवारजन चिन्तित थिए । निको भएर घर फर्कँदा भने सबै खुशी छन् । छिमेकका सङ्क्रमितमा मनोबल र विश्वास बढेको छ ।

कोरोनाको दोस्रो लहरबीच जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ९८५ छ । कोरोनाका कारण हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा गम्भीर प्रकृतिका सङ्क्रमितको चाप कम हुँदै गएको अस्पतालले जनाएको छ ।

कमेन्ट्स
Loading...