सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।
प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी नभएको हो ।
१२ जना सांसद रहेको कांग्रेसले आज प्रदेश सभामा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको हो।
सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो ।एमालेको केन्द्र सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने नीतिमा भएपनि सुदूरपश्चिममा माधव नेपाल पक्षको बाहुल्य भएकाले केन्द्रको निर्णय उलंघन भएको हो ।
