सुचना, समाचार र मनोरन्जन

विश्वकप छनोट : आज नेपालले एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दै

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुने। अस्ट्रेलिया नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने ।

  •  
  •  
  •  
  •  

काठमाडौं /

विश्वकप तथा एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो ।

फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्। विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ।

अष्ट्रेलिया समूहमा लगातार ६ खेल जित्दै शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

कुवेतका प्रो लाइसेन्सधारी प्रशिक्षक अल्मुताइरीले आफ्नो टिममा रहेका डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेतसमेत गरेका छन् ।

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालले कडा मिहिनेत गरिरहेको र नेपालसँग खेल्न उत्साहित भएको बताए। प्रशिक्षक अर्नोल्डले नेपालविरुद्धको खेलमा टिममा परिवर्तन गर्ने बताएका छन् ।

कमेन्ट्स
Loading...