सुचना, समाचार र मनोरन्जन

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने वल्र्ड बैंकको प्रक्षेपण

  •  
  •  
  •  
  •  

पोखरा /

विश्व बैंक(वल्र्ड बैंक) ले सन् २०२०÷२१ मा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने अनुमान गरेको छ ।

यसअघि गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो । तर, विश्व बैंकले त्यसवेलाको प्रक्षेपणलाई परिमार्जन गरी २ दशमलव १ प्रतिशत बिन्दु थप गरेको छ । खासगरी चालू आर्थिक वर्षमा धानको उत्पादन राम्रो भएकाले आर्थिक वृद्धि केही सकारात्मक हुने विश्व बैंकको भनाइ छ ।

यो आर्थिक वृद्धिदर दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको आर्थिक वृद्धिदर (३.६ प्रतिशत) पछिको सबभन्दा राम्रो वृद्धिदर हो ।
मङ्गलबार ग्लोबल इकोनोमिक प्रस्पेक्टस सार्वजनिक गर्दै विश्व बैङ्कले यो वर्ष पाकिस्तानको १.३ प्रतिशत तथा बाँकी दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरेको छ ।

अर्को वर्ष (२०२१/२२) मा भने नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान छ । यो आर्थिक वर्षमा भारतको ८.३ प्रतिशत, बङ्गलादेशको ५.१, भुटानको पाँच प्रतिशत र पाकिस्तानको दुई प्रतिशत रहने प्रक्षेपण बैङ्कको छ । यही समय माल्दिभ्सको साढे ११ प्रतिशत, अफगानिस्तानको २।६ प्रतिशत र श्रीलङ्काको दुई प्रतिशतको आर्थिक वृद्धिदर रहने विश्व बैङ्कले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले भने चालू आर्थिक वर्ष ०७७/७८ मा आर्थिक वृद्धि ४ दशमलव ०१ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।  आगामी आर्थिक वर्ष ०७८/७९ का लागि गत जनवरीमा विश्व बैंकले २ दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

आर्थिक वर्ष ०७९/८० मा भने ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान विश्व बैंकको छ । गत आर्थिक वर्ष ०७६/७८ मा देशको अर्थतन्त्र इतिहासकै कमजोर अर्थात् माइनस २ दशमलव १२ प्रतिशतमा झरेको थियो ।

कमेन्ट्स
Loading...