सुचना, समाचार र मनोरन्जन

बीमा समितिको निर्देशन-‘अबदेखि उधारोमा बीमा नगर्नू’

पोखरा /

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई उधारोमा बीमा नगर्न निर्देशन दिएको छ । आइतबार समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा नगर्न जीवन बीमा कम्पनीहरूलाई परिपत्र गरेका हुन् ।

कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई परिपत्र गर्दै बीमा शुल्क रकम बैंक खातामा प्राप्त गरेपश्चात मात्र बीमालेख जारी गर्न भनेका छन् ।

‘बीमा ऐन २०४९ मा बीमा शूल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्न नमिल्ने उल्लेख छ र बीमकले जोखिम ग्रहण गरेवापत बीमा शूल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने यहाँहरूलाई जानकारी नै होला’ पत्रमा भनिएको छ । यो निर्देशनको बर्खिलाप काम गरे कानुन अनुसार कारबाही हुने जानकारी उनले गराएका छन् ।

पत्रमा भनिएको छ, ‘अहिले पनि उल्लेखित कानूनद्धारा वर्जित गरिएका उधारो बीमा गर्ने वा चेक मार्फत प्राप्त हुने बीमाशुल्क बापतको रकम बीमकको बैंक खातामा प्राप्त नभइकिन बीमालेख जारी गर्ने जस्ता गतिविधीहरु बीमकबाट भइरहेको भन्ने उजुरी र गुनासाहरु आइरहेका छन् । बीमाशुल्क बापतको रकम बैंक खातामा प्राप्त भएपश्चात मात्र बीमालेख जारी गर्न अनुरोध छ ।’

कमेन्ट्स
Loading...