सुचना, समाचार र मनोरन्जन

मेलका रूखमा नास्पाती फलेपछि …

  •  
  •  
  •  
  •  

मेलका रूखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ। सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रूखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ।

अहिले कलमी गरिएका रूखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेका छन्। दश वर्ष पहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेको थियो। पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने, ‘केही काम नलाग्ने मेलका रूख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुसी भएका छन्।’

खाना पकाउने दाउरासमेत नहुने उक्त रूखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए। तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रूखमा कलमी गरी नास्पाती लगाइएको थियो। यसरी नास्पाती फल्न थालकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने हाल दिपायल राजपुरस्थित सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक बनेका उनले भने, ‘बिनाकामका खेर गएका रूखलाई मेरै योजनामा कलमी गरी नास्पाती बनाएका थियौं, अहिले मेहनतको फल फल्न सुरू भएको छ, अब किसानका आयआर्जन बढ्नेछ।’

अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रूखमा कलमी गरी नास्पातीका बिरूवा लगाइदिन आग्रह गर्दै आएको उक्त निर्देशनालयले जनाएको छ। सानागाउँमा फलेका नास्पाती बिक्री(वितरणका लागि केही दिनमै यहाँका साँझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताए।

‘हामीले जिल्लाका सानागाउँ र बुडरमा मेलका रूखलाई कलमी गरी नास्पाती बनाएका थियौं, सानागाउँमा नास्पाती फल्न सुरू भएको छ, बुडरमा पनि फल्ने तयारीमा छ, अब जिल्लाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विकास गर्ने तयारीमा छौं,’ निर्देशक जोशीले भने।

कमेन्ट्स
Loading...