सुचना, समाचार र मनोरन्जन

निर्वाचन आयोगमा हेड काउन्ट : हस्ताक्षर सनाखत गर्न जेलबाट लगियो रेशम चौधरीलाई

हेड काउन्ट- निरीह ठाकुर, विजयी मुद्रामा उपेन्द्र ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो। चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह नै आयोगमा खटिएका थिए ।

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए । अहिलेसम्म उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। ‍पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

चौधरीले आफूले कसका पक्षमा हस्ताक्षर गर्नेबारे दुबै पक्षका नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने प्रतिक्रिया दिएका छन् । उनले पहिले उपेन्द्र यादवसँग छलफल गरेर महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगमा हेड काउन्ट हुँदा ठाकुर पक्ष निरीह र यादव पक्ष विजेताका रूपमा देखिएका छन् । ठाकुर पक्षका नेता केशव झाले आफ्नो समूहमा कति जना छन् भन्न सकेनन् ।

कमेन्ट्स
Loading...