सुचना, समाचार र मनोरन्जन

पूर्वसभामुख महराले बलात्कार मुद्दामा उच्च अदालतबाट पनि पाए सफाइ

जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ ।

  •  
  •  
  •  
  •  

पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो। उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

उक्त आरोपपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । जिल्ला अदालतले सफाइ दिएपछि उनी झण्डै ५ महिनापछि थुनामुक्त भएका थिए।

कमेन्ट्स
Loading...