सुचना, समाचार र मनोरन्जन

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई-नियुक्तिको मापदण्ड बनाउने

गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम बनाउने समझदारी। मन्त्रिपरिषदले पूर्णता नपाएकाले आज भोलिमै मन्त्रीहरू नियुक्त गरिने । पाँच वटै दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउने।

  •  
  •  
  •  
  •  

काठमाडौं /

सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा करिव २ घण्टा बसेको गठबन्धनको बैठकले सरकार सञ्चालनको लागि गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम बनाउने समझदारी भएको छ ।

सरकार गठन भएको दुई साता हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाएकाले आज भोलिमै मन्त्रीहरू नियुक्त गरिने भएको छ । सत्तारुढ गठबन्धनको बैठकमा अन्य पाँच प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ । बैठकले मन्त्रालय भागबण्डा र मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वलाई दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् विस्तारअघि गठबन्धनमा आवद्ध पाँच वटै दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउने जनाइएको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ। आजको बैठकमा गठबन्धनका नेताहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता टुंगिएको तथा एमालेको माधव नेपाल समूहले पनि छिट्टै सरकारमा सहभागिताबारे निर्णय दिएपछि मन्त्रिपरिषद विस्तारको तयारी भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, कृष्ण प्रसाद सिटौला सहभागी थिए । त्यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभगी छन् थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी थिए। गठबन्धन बैठकमा एमाले नेता माधवकुमार नेपाल भने आज अनुस्थित रहे। तर उनले आफ्ना तर्फबाट विजय पौडेललाई बैठकमा पठाएका थिए।

साथै गठबन्धनको बैठकमा कोरोनाविरूद्ध थप खोप ल्याउनेबारे पनि कुराकानी भएको थियो। सरकारले कोरोनाविरूद्ध खोप पर्याप्त मात्रामा ल्याएर जनतालाई छिटो लगाउने व्यवस्थापन मिलाउनुपर्ने सुझाव आएको थियो।

कमेन्ट्स
Loading...