सुचना, समाचार र मनोरन्जन

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

  •  
  •  
  •  
  •  

काठमाडौँ /

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

कक्षा ११ र १२ सञ्चालन भएका अधिकांश विद्यालयमा १०० जना भन्दा कम विद्यार्थी रहेकाले सुरक्षित रुपमा परीक्षा सञ्चालन गर्न सहज हुने उनले बताए । पाँच सयभन्दा बढी विद्यार्थी भएका विद्यालयको संख्या ९० मात्र रहेको उनले बताए ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ । होम सेन्टरबाट परीक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या पनि कम हुने र विद्यार्थीमा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकाले उक्त विधिबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको हो ।

परीक्षाको लागि दुई किसिमले विद्यालयमा प्रश्नपत्र पठाउने उनले बताए । उनका अनुसार इन्टरनेटको सुविधा भएका विद्यालयमा इमेलमार्फत प्रश्नपत्र पठाइने र इन्टरनेटको सुविधान नभएका विद्यालयहरुमा प्रश्नपत्रको हाडकपि पठाइने छ ।

कमेन्ट्स
Loading...