सुचना, समाचार र मनोरन्जन

बेनी–लभ्लिहिल–भकुण्डे सडकको अवस्था डेढ दशकसम्म उस्तै, स्थानीयवासी कठिन यात्रा गर्न बाध्य

सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ। सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन् ।

म्याग्दी /

म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ। सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ। सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन् ।

विसं २०६५ मा ‘ट्र्याक’ खुलेको बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल र ट्र्याक्टरबाहेक अरू सवारी साधन सञ्चालन हुन नसकेका स्थानीय कृष्णबहादुर घिमिरेले बताए। सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको उनको भनाइ छ। विसं २०६५ मा ट्र्याक खोल्ने काम भए तापनि बाटोमा सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको खबराका चन्द्रबहादुर कार्कीले बताए।

“अहिलेसम्म बेनीबाट जिप वा बसमा चढेर गाउँमा आउन पाइएको छैन,” कार्कीले भने, “खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकोमा बोकेर बिक्री गर्न बजार लैजानुपर्छ, सडक हुनु र नहुनुको अर्थ नै भएन ।”

समय सयममा सामान्य रुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ। वर्षातको समयमा बाढीपहिरो तथा हिलाम्य र हिउँदको समयमा धुलाम्य भएर पैदल र मोटरसाइकलमा कठिन यात्रा गर्नु परेको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताए। साढे सात किलोमिटर कच्ची उक्त सडकमा जिप, बसलगायतका साधन चल्न सक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो सडक पार गरेर जिप भकुण्डेसम्म पुग्छ।

बाटोको समस्याकै कारण म्याग्दीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल ज्यामरुककोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ । बाटोको मर्मत सुधार गरी यातायातका साधन सञ्चालन हुनसक्ने बनाउन सके ज्यामरुककोटमा पर्यटक पुग्नाका साथै स्थानीयलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने स्थानीय भीमबहादुर पौडेलले बताए।

उक्त सडक मर्मतका लागि हालसम्म करिब रु एक करोड खर्च भइसकेको छ । वडा नं २ का वडाध्यक्ष यामबहादुर कार्कीले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो । सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.