सुचना, समाचार र मनोरन्जन

कहिले उठ्ला पोखराको पर्यटन ?

  •  
  •  
  •  
  •  

पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ । राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक (खैरे) देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ ।

कोभिड-१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदुरको रोजगारी जोखिममा परेको छ । बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवद्र्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम गरिएको थियो ।

कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसङ्केतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

पर्यटनका लागि खोपको सुनिश्चितता :

पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान सुरु गरिएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए ।

पर्यटन व्यवसायी, मजदुर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए ।

पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । “पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,” बोर्ड सदस्य पौडेलले भने ।

सुनसान लेकसाइड :

विशाल छाती भएको पोखराको सान फेवाताल शान्त छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे, अन्नपूणर् लगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् । तालमा दुबुल्की मार्ने ढुङ्गा किनारामा थन्क्याइएका छन् । वर्षायाम भएकाले फेवाताल भरिएको छ । तालको रौनकता बढेको छ तर तालमाथि तैरिने त्यो मानिसको भीड अहिले देखिँदैन ।

लेकसाइडको सडकमा सवारी साधनबाहेक सडक किनारका केही पसल मात्र खुलेका देखिन्छन् । धेरैजसो सटर बन्द छन् । ती सटर पदयात्रा तथा पर्यटकीय सामग्रीका हुन् । हो यतिखेर पोखराको परिवेश यस्तै छ । विदेशी पर्यटकले भरिभराउ पोखराका अधिकांश होटेलमा पाहुना छैनन् । आन्तरिक पर्यटक फाट्टफुट्ट मात्रामा भेटिन्छन् । उनीहरुलाई पर्यटक पाउनेभन्दा पनि करोडौँका सामान बिग्रिने हुन् कि भन्ने चिन्ता छ । पोखराकै व्यस्त होटेलमध्येको बाराही होटेल यस्तै अवस्थामा छ । प्रसिद्ध फूलबारी रिसोर्टमा पाहुना पुग्दैनन् । अन्य चर्चित होटेलको अवस्था पनि उस्तै छ । रेष्टुराँ खाली छन् । क्लब बार सुनसान । होटेल मात्र हैन पदयात्रा तथा पर्यटनका अन्य व्यवसाय पनि सुनसान देखिन्छ ।

त्रासमा व्यवसायी :

महामारीको दोस्रो लहरले पुनः व्यवसायी झस्किए । तैपनि दोस्रो लहरपछि पर्यटनले गति लिनेमा व्यवसायीको विश्वास कायमै रह्या तर महामारीको पछिल्लो तेस्रो लहरको पूर्ववत् सङ्केत र पछिल्ला दिनमा कोभिडका सङ्क्रमित बढेसँगै फेरि पनि व्यवसायी हतोत्सायी छन् । कतिपयलाई त पेसाबाटै विमुख होइने हो कि भन्ने चिन्ता छ । केहीले नयाँ विकल्प पनि शुरु गरिसकेका छन् । जग्गा तथा भवन भाडामा लिएर करोडौँ लगानी गरेका होटेल व्यवसायी लगानी उठ्नेभन्दा व्यवसाय नै धरापमा पर्ने होकि भन्ने चिन्ता बढेको छ । पोखराका होटेलमा दुई हजार पाँच सय शय्या छन् ।

साहसिक गतिविधि पनि सुस्त :

चर्चित साराङकोटस्थित ‘हाइग्राउन्ड एडभेन्चर’ पोखराको महत्वपूणर् साहसिक पर्यटकीय गन्तव्य हो । पोखरा पुग्ने पर्यटक साराङकोटबाट जिपलाइनको मजा लिन नपुग्ने विरलै हुन्छन् तर अहिले यो क्षेत्रमा पनि पर्यटक भेटिँदैनन् । सिजनमा दैनिक ७० जनासम्मले जिपलाइन र त्यत्ति नै सङ्ख्यामा बञ्जी जम्प गर्ने भए पनि अहिले मुस्किलले दुई/चारजनाले मात्रै सेवा लिएका छन् । हाइग्राउन्ड एडभेन्चर नेपाल प्रालिका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले अपेक्षित मात्रामा पर्यटक आउन नसकेको बताउनुभयो । कम्पनी कोभिडको दोस्रो लहरपछि दुई साताअघि मात्रै सञ्चालमा आएको थियो ।

कति छ लगानी :

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार दुई सय ९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ एक सयजना व्यवसायी आबद्ध छन् । यसमा एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सीतर्फ एक सय ५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सीतर्फ एक सय ८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार छ भने १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ । अन्य पर्यटकीय पूर्वाधारमा पनि करोडौँ लगानी छ ।

यी हुन् पोखराका आकर्षण :

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । माछापुच्छे्र हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीस्थित मल्लकालीन कोटभैरव जस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीच भाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् ।

कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमन करिब ८० प्रतिशतले गिरावट आयो । यो वर्ष पनि पर्यटक आगमन दर सुधारोन्मुख छैन । पर्यटन बोर्डको तथ्याङ्क सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

क्षेत्रीय उडानले रौनकता :

पोखराको पर्यटनलाई लक्षित गर्दै वायुसेवा कम्पनीले क्षेत्रीय उडान सञ्चालन गरिरहेका छन् । विशेषगरी छिमेकी मुलुक भारतको सीमा क्षेत्रबाट भारतीय पर्यटकलाई आकर्षण गर्न बुद्ध एयरले पोखराबाट नेपालगञ्ज, भैरहवा र भरतपुर उडान गरिरहेको छ । क्षेत्रीय उडानबाट पनि पर्यटक उल्लेख्य मात्रामा आउन नसकेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताउनुभयो । पोखरामा दैनिक दुई हजार जति हवाई यात्रु आवतजावत गर्ने गरेका छन् । काठमाडौँ-पोखरा गन्तव्यमा बुद्ध एयरले मात्रै दैनिक नौ उडान गरिरहेको छ ।

कमेन्ट्स
Loading...