सुचना, समाचार र मनोरन्जन

एकाएक चर्चामा बेलढुङ्गा, २५ सय मिटरको उचाइमा साइकल लेन बनाइदै

  •  
  •  
  •  
  •  

कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ ।

दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरिएको हो ।

बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीयवासीको रु एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर लामो साइकल लेन निर्माण गरिएको छ । बेलढुङ्गाबाट कान्छो धवलागिरि नजिकै साइकल लेन पुगिसकेको छ । संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययनसमेत भइसकेको छ ।

दुई वर्षअघि मात्रै बागलुङ–६ स्थित पाँचकोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरिएको थियो । तत्कालीन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पदमार्ग पहिचानको शुभारम्भ गरेका थिए । त्यही समयमा पहिचान गरिएको पदमार्गलाई अहिले साइकल लेनका रूपमा विकास गर्न थालिएको हो । साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत यात्रा गर्न सकिने गरी सिँढीसहितको पदमार्ग निर्माण थालिएको बेलढुङ्गा, पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए ।

“पदमार्गलाई साइकलसमेत कुदाउन सक्ने गरी विकास गर्न खोजेका छौँ, त्यसैले बेलढुङ्गा–पञ्चकोटलाई साइकल लेनले जोड्ने हाम्रो उद्देश्य हो, अहिले गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको रु २० लाख र एक लाख श्रमदानबाट देउरालीबाट बेलढुङ्गा ‘भ्यू प्वाइन्ट’ पुग्ने स्लेट ढुङ्गासहितको ३०० मिटर पदमार्ग र सोही स्थानबाट एक हजार ७०० मिटर साइकल लेन निर्माण गरेका छौँं”, अध्यक्ष घर्तीले भने , “साइकल लेनमध्ये १७५ मिटरमा स्लेट ढुङ्गा बिच्छ्याएर चिटिक्क बनाएका छौँ, सबै स्लेट ढुङ्गा ताराखोला गाउँपालिकाबाट ल्याएका हौँ ।”

बेलढुङ्गाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट केही सरकरात्मकरूपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै रु दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत बेलढुङ्गा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर जैविक उत्पादन चखाउने योजना रहेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीषले बताउनुभयो । श्रीषका अनुसार चार फिट चौडा साइकल लेन निर्माण गरिएको हो ।

बेलढुङ्गालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी गाउँपालिकाले अग्रसरता देखाएको उल्लेख गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापाले यो आर्थिक वर्षमा समेत बेलढुङ्गा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिने बताए । “पदमार्ग र साइकल लेन निर्माणलाई पूर्णता दिन समय लाग्ने भए पनि यसको पूर्णताले पञ्चकोट र बेलढुङ्गालाई जोड्ने मात्र नभई साहसिक पर्यटकको गन्तव्य बनाउने छ”, थापाले भने ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड यसको प्रमुख आकर्षण हो । यद्यपि विसं २०७२ को भूकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुङ्गा ढलेको भए पनि अहिले पुनःनिर्माणले गति लिएको छ । अहिले बेलढुङ्गालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्डसमेत राखिएको छ ।

बागलुङ जिल्लाको काठेखोला–३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको दुई हजार ६१४ मिटर अग्लो पहाड बेलढुङ्गा अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

कमेन्ट्स
Loading...