सुचना, समाचार र मनोरन्जन

अफगानिस्तानमा संकट : तालिवान विद्रोहीद्वारा राष्ट्रपति कार्यालय कब्जा (तस्बिरहरू हेर्नुहोस्)

  •  
  •  
  •  
  •  

एजेन्सी /

लडाकु समूह तालिवान अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर तालिवान लडाकुहरुले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् । झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।

रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् । आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।

आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्। तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए।

राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् । अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन।

जलालबाद, घान्जी, फेरुज काेजस्ता धेरै शहर त उसले विना युद्ध जितेको थियो । अफगानी सेना तथा वरिष्ठ अधिकारीले आत्मसमर्पण गर्दै तालिबानलाई आफ्नो शहर सुम्पिरहेका छन् ।

तालिबानसामु काबुल तीन महीना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।

कमेन्ट्स
Loading...