सुचना, समाचार र मनोरन्जन

आज साउनको अन्तिम सोमबार : शिव मन्दिरमा व्रत समापन, पशुपतिनाथमा भीड [तस्बिरहरु]

पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड ।  कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून । 

  •  
  •  
  •  
  •  

काठमाडौं /

आज साउनको अन्तिम सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड लागेको छ।

सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ। साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने धर्मग्रन्थमा उल्लेख छ ।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।

व्रत महिमा

पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसवर्ष भने केही शिवालयहरु बन्दछन् भने खुलेका मन्दिरहरुमा पनि भक्तजनको उपस्थिति न्यून छ ।

कमेन्ट्स
Loading...