सुचना, समाचार र मनोरन्जन

माधव नेपाल पक्षले पायो एकपछि अर्को राजनीतिक नियुक्ति, झा रेल्वे कम्पनीको महाप्रवन्धक नियुक्त

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षका झालाई बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि हात पारेको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

सप्तरी राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्। राजविराज नगरपालिका–१ निवासी झाले रेल सञ्चालनका लागि कटिबद्ध रहने बताए । उनले सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

नेपालले जनकपुर-जयनगर रूटमा चलाउन भारतबाट दुइटा रेल किनेको छ। झन्डै एक वर्षअघि रेल आए पनि चलाउने जनशक्ति नहुँदा अहिलेसम्म रेल सञ्चालनमा आउन सकेको छैन ।

नेता नेपालले एमाले (समाजवादी) गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

कमेन्ट्स
Loading...