सुचना, समाचार र मनोरन्जन

तमुधि यूकेले २९ अगष्टमा वेलायतमा भव्य रुपमा ‘नेपाली मेला’ आयोजना गर्दै

  •  
  •  
  •  
  •  

लन्डन /

तमुधि यूकेले आउंदो साता २९ अगष्ट आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण हो, जसमा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ ।

बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव ‘मेलाको प्रमुख ‘थिम’ छ । आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले तयारीबारे विस्तृत जानकारी दिए । करिब ३० हजार पाउण्ड अनुमानित खर्च रहेको मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले भाग लिने तय भएको संयोजक गुरुङले जानकारी दिए । ति संस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झांकी, नृत्य प्रस्तुत गर्नेछन् ।

बेलायत सरकारले कोरोना सम्बन्धि नियम हटाएपनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजर उपलब्ध गराइने संयोजकले जनाए । उनले कोभिड संक्रमण बढिरहेका बेला करिब तीन हजार दर्शक सहभागी हुने अनुमान गरिएको बताए । ‘विगतमा त ८(१० हजारसम्म दर्शक सहभागी भएका हुन् तर यसपटक परिस्थिति फरक छ । तीनहजार दर्शकमात्र आएपनि हामी ब्रेकइभनमा हुनेछौं’, उनले भने । राजदूत लोकदर्शन रेग्मीले मेला उद्घाटन गर्ने तय छ । दिउसो एक बजे झांकी प्रस्तुति शुरु हुने आयोजकले जनाएका छन् ।

यसपटक विगत जस्तो अन्य देशका कूटनीतिज्ञहरु उल्लेख्य सहभागी नहुने सम्भावना छ । ‘डिप्लोम्याट्स निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो । समय अभाव, कोभिड र दूतावासमा सबै नयां टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्’, संयोजक गुरुङले भने, ‘तर, विदेशीहरु र स्थानीय काउन्सिल नेताहरु दर्शकका रुपमा रहने अपेक्षा छ ।’ मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ ।

राफल ड्र प्रथम विजेतालाई एक तोला सुन, द्धितिय विजेतालाई ट्याबलेट र तृतीयलाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ । बिहान १० देखि सांझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली मौलिकपनको रसस्वादन गर्न तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले अपिल गरेका छन् । ‘नेपाली मेला तमुधिं यूकेको मात्र नभइ समस्त बेलायतवासी नेपालीको हो र यो मुनाफा कमाउने उद्देश्यले गर्न लागिएको होइन’, अध्यक्ष गुरुङले प्रष्टयाए, ‘विदेशमा पनि नेपाली कला संस्कृति, रितिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्धन हाम्रो मुख्य उद्देश्य हो ।

हामीलाई मेला सफल पार्न सबैको सहयोग खांचो छ । तपाईं सपरिवार आइदिनु होला ।’ उक्त मेलामा झांकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । प्रथम हुनेलाई अतिरिक्त ३ सय पाउण्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद प्रदान गरिनेछ । त्यसैगरि झांकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ ।

मेलाका लागि दूतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ । झांकी निर्णायकमा नेपाली कला, संस्कृतिविद ४ जना र नृत्यको निर्णायकमा ३ जना बेग्लै व्यक्ति रहने आयोजकले जनाएका छन् । महासचिव परशु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् । सो अवसरमा तमुधिं यूकेका मिडिया सेक्रेटरी एस के गुरुङले उपस्थित मिडियाकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्ष हितकाजी गुरुङले खादा र मेला पास उपलब्ध गराइ सम्मान गरेका थिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालसहित शाखाका अधिकांश पदाधिकारी, अन्य पत्रकारहरु, सल्लाहकारहरु, इकाइ अध्यक्ष लगायतको सहभागिता थियो ।

कमेन्ट्स
Loading...