सुचना, समाचार र मनोरन्जन

काबुल विमानस्थलमा फेरि आतंकवादी हमला हुन हुनसक्छ : राष्ट्रपति जो बाइडेन

३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बाइडेनको भनाई ।

  •  
  •  
  •  
  •  

एजेन्सी /

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । विमानस्थलमा फेरि आतंकवादी हमला हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ।

उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’ उनले ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताएका थिए।

बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको थियो। बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका थिए।

बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ । तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन ।

समाचार संस्था एपीका अनुसार अमेरिकी दूतावासको उक्त चेतावनीपछि अहिले काबुल विमानस्थलको गेटबाहिर भिड कम हुँदै गएको छ।यसअघि बिहीबार साँझ काबुल विमानस्थलबाहिर भएका दुई वटा आत्मघाती बिस्फोटमा १३ अमेरिकी सैनिक र दर्जनौं अफगान नागरिकको मृत्यु भएको थियो।

आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ । तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ । यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ । कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ ।

काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन् । गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन् । ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ । यस्तै राष्ट्रपति बाइडेनले आइएसआइएसकेविरूद्ध शुक्रबारको आक्रमण अन्तिम नभएको बताएका छन्।

कमेन्ट्स
Loading...