सुचना, समाचार र मनोरन्जन

अमेरिकामा समुद्री आँधीको कहर : तीन नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु (तस्बिरहरु)

  •  
  •  
  •  
  •  

एजेन्सी /

समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा एकै परिवारका तीन जना नेपालीसहित कम्तीमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारीअनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको हो। उनीहरू अमेरिकाको न्युयोर्कमा बस्ने गर्थे।

यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् ।

तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो। आँधीपछि आएको भारी वर्षाका कारण पूर्व राज्यहरु कनेन्टिकट, मेरिल्याण्ड, न्यू जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।

न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ । न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा मृत्यु भएकाहरुमध्ये धेरैजसो पानीको सतह बढेपछि आफ्नै सवारीसाधनमा फसेकाहरु रहेको बताएका छन् ।

अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।

पछिल्लो ९ वर्षमा सामुद्रिक आँधीको प्रभावले अमेरिकामा यति धेरै मानिस मरेको पहिलो पटक हो। सन् २०१२ मा स्यान्डी आँधीले पनि अमेरिकाको यो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

तस्बिरहरु : रोयटर्स 

कमेन्ट्स
Loading...