सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा पर्‍यो साढे ३ घन्टामै १०५ मिलिमिटर पानी,३८२ घर डुबे, १३८ जनाको उद्धार

उपत्यकाका सबै नदी र खोलामा बाढी

  •  
  •  
  •  
  •  

काठमाडौं /

वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । जसका कारण यो क्षेत्रका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको छ । बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको छ ।

अघिल्लो साता झरीपछि चार दिनदेखि मौसममा सुधार भएको थियो । चर्को घामका कारण स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट उत्तर पश्चिम क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण नेपालतर्फ आएको जलवास्पयुक्त हावाका कारण वागमती प्रदेशका क्षेत्रहरुमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनप्रसाद अर्यालले दिएको जानकारी दिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको हो।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।

कमेन्ट्स
Loading...